चीनतर्फ क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालन, अब इन्टरनेटमा भारतको एकाधिकार अन्त्य

Advertisement

काठमाडौंः नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिंक आज शुक्रबारबाट व्यावसायिक सञ्चालनमा आएको छ । अब विश्वसँग जोडिने नेपालको सुचना महामार्ग (इन्फरमेशन हाइवे) भारत र चीन दुवैतिरबाट सम्भव मात्रै नभएर भारतको एकाधिकार पनि अन्त्य भएको छ ।

यस सम्झौताले नेपालमा इन्टरनेट सेवा सर्वसुलभ हुनुका साथै इन्टरनेटमा आधारित उद्योगधन्दाको विकासमा समेत सहयोग पुग्ने र जनतालाई सुचनाको सहज पहुँच बनाउन सहयोग पुग्नेछ । आज एक कार्यक्रमका बीच सुचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले फाइबर लिंकको औपचारिक शुभारम्भ गरेका हुन ।

मन्त्री बस्नेतले देशव्यापी रुपमा इन्टरनेट पूर्वाधार निर्माणका लागि नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिंक एक कोशेढुंगा भएको बताउँदै चीन र नेपालबीच सरकारी, संस्थागत र जनस्तरमा भइरहेको सहयोगलाई अझै बढाउन यसले भूमिका खेल्ने बताए ।

उनले लिंक निर्माण गर्ने दुई देशको निकै लामो समय पहिलेको योजना भए पनि भूकम्प र अन्य विभिन्न प्राकृतिक प्रकोपका कारण ढिलाई भएको भन्दै मूख्य प्राथमिकतामा रहेको काठमाडौं–केरुङ रुट सञ्चालनमा ल्याउन सफलता मिलेको बताए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष केदारबहादुर अधिकारीले आर्थिक वृद्धि र देशको समग्र विकासका लागि दूरसञ्चार पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सो लिंक नेपालका लागि महत्वपूर्ण भएको बताए ।

नेपालका लागि चीनका राजदूत यु होङले नेपालका लागि चीन दोस्रो ठूलो व्यापारिक साझेदार राष्ट्र भएको स्मरण गर्दैै सो लिंकले इन्टरनेट उपलब्धताका लागि छोटो रुट उपलब्ध गराएको मात्र नभई दुई देश बीचको व्यावसायिक सम्भावनालाई अझै नजिक ल्याएको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकमले विगत एक सय बर्ष यता ग्राहकको चाहना अनुसारका विभिन्न सेवा उपलब्ध गराउदै आएको बताउँदै हाल वायरलेस तर्फ फोरजी तथा वायरलाइन तर्फ फिक्स ब्रोडब्यान्डको विस्तार सँगसँगै सो रुटमार्फत हुने थप अन्तर्राष्ट्रिय आवद्धताले अहम् भूमिका निर्वाह गर्ने बताइन ।

उनले सो लिंकमार्फत कम्पनीका सेवाहरुको उपलब्धता र विश्वसनियतामा अझै अभिवृद्धि हुने बताइन । चाइना टेलिकम ग्लोबलका मूख्य प्रतिनिधि वाङ योङलिनले फाइबर लिंकले केबुलमार्फत नेपाललाई चीन र हङकङ हुँदै युरोप, मध्य एसिया, उत्तर पूर्वी एसिया र अमेरिका सम्म जोड्ने बताए । सो केबुलले भारत र चीनलाई समेत जोड्ने र दुई देश बीचको सम्बन्धलाई अझै मजबुत बनाउने तथा नेपाली कम्पनीहरुको बजार विस्तारमा सहयोग पु¥याउने बताए ।

इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यावहारिक रुपमा एक भन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआवद्धता हुनु पर्ने आवश्यकताको बोध भई सन् २००३ देखि नै निम्नानुसार पहल भएको हो:

  • सन् २००३ को डिसेम्बर ३ मा तत्कालीन श्री ५ को सरकार र चिनिया सरकार बीच भएको आर्थिक तथा प्राविधिक सम्झौता बमोजिम अरनिको राजमार्ग अन्तर्गत काठमाडौं देखि खासा झाम्सुङ सम्म १५५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य २००८ अगस्टमा सम्पन्न भएको थियो ।

  • नेपाल टेलिकम र तत्कालीन चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच झाङमु र तातोपानी बीच ट्रान्सपोर्ट नेटवर्क इन्टरकनेक्सन गर्ने सम्बन्धी समझदारी पत्रमा सन् २०११ डिसेम्बर २६ मा हस्ताक्षर भएको थियो ।

  • सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसन बीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।

  • सन् २०१५ को अप्रिल २५ मा आएको भूकम्पका कारण काठमाडौं–तातोपानी रुट क्षतिग्रस्त भयो । त्यसपछि काठमाडौं–रसुवागढी रुटका लागि आवश्यक एडीएसएस (अल डायलेक्ट्रिक सेल्फ सर्पोटिङ) लिंक निर्माण सम्बन्धी कार्य अगाडि बढेको थियो ।

  • तत्पश्चात सन् २०१६ को मे महिनामा चाइना टेलिकम र नेपाल टेलिकम दुवैले अप्टिकल फाइबर कनेक्टिभिटीको परीक्षण सफलतापूर्वक सम्पन्न गरेका थिए ।

  • यही बीचमा सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यावसायिक प्रयोजनका लागि उपयोग गर्न नेपाल टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो ।

  • सन् २०१६ को डिसेम्बर ६ मा यस सम्बन्धी व्यावसायिक सम्झौता हङकङमा सम्पन्न भएको थियो ।

  • तत्पश्चात सम्पूर्ण तयारी पछि परीक्षण कार्य गरेर आज सन् २०१८ जनवरी १२ देखि उक्त अप्टिकल फाइबर लिंक औपचारिक रुपमै व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।

Advertisement

Advertisement

Advertisement