यो साता नेप्से बढे पनि कारोबार बढन सकेन, बिमा कम्पनीहरुका लगानीकर्तालाई साता लाभदायक

Advertisement

काठमाडौंः यो साता सेयर बजार परिसुचक नेप्से १७ अंकले उक्लिएर एक हजार ४४० अंक कायम भएको छ । गएको साता नौ अंकले मात्रै बढेको नेप्सेको वृद्धिदर यो साता भने केही बढेको हो ।

नेप्से बढे पनि यो साता कारोबार भने ३६ दशमलव ७९ अंकले घटेर एक अर्ब ७१ करोड रुपियाँमा सीमित भएको छ । नेप्से चार दिन मात्रै खुल्ला रहेकोले पनि कारोबार रकममा कमी देखिएको हो । वित्तीय बजारमा तरलता अभावसँगै राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने, बैंकरहरुले ब्याजदर थप वृद्धि नगर्ने, सरकारी कोषहरुको रकम सेयर बजारमा परिचालन गर्ने जस्ता निर्णयले सेयर बजारको लगातारको गिरावट रोकिएको थियो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १७४ कम्पनीको कारोबार भएको छ । जस अनुसार १७ हजार ३९३ कारोबारबाट ४१ लाख पाँच हजार २१० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । समूहगत कारोबार हेर्दा बाणिज्य बैंक समूहको उपसुचक १३ अंकले, विकास बैंक समूह १९ अंकले, वित्त समूह दुई दशमलव सात अंकले, लघुवित्त समूह १७ अंकले, होटल समूह करिव ३७ अंकले, जलविद्युत साढे पाँच अंकले, बिमा समूह १५२ दशमलव पाँच अंकले, व्यापार करिव डेढ अंकले र अन्य समूह करिव १० अंकले बढेको छ भने उत्पादनमूलक समूह १८ अंक भन्दा बढिले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव २९ अंकले बढेर ३०३ दशमलव ६८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (२३ करोड ७६ लाख ५० हजार रुपियाँ)को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ९९ हजार कित्ता)को आधारमा नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि छ भने कारोबार संख्या (एक हजार ४७५ वटा)को आधारमा पनि सोही कम्पनी अगाडि रहेको छ । यो साता नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर, ङादी ग्रुप पावर, सानिमा बैंक, नविल बैंक र टुरिजम डेभलपमेन्ट बैंकको बोनस सेयर सुचिकृत भएका छन् ।

Advertisement

Advertisement

Advertisement