राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा कार्यालय स्थापना

Advertisement

विराटनगर: प्रदेश नं १ को राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि आज यहाँ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

विराटनगर–७ स्थित वीरेन्द्रसभा गृहमा आज दिउँसो निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले एक समारोहबीच सो कार्यालयको स्थापना गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन् ।

क्षेत्रीय निर्वाचन कार्यलय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले माघ २४ गते हुने निर्वाचनमा १ नं प्रदेश अन्तर्गत १४ जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सांसदसहित ४३५ मतदाता रहेका छन् ।

यस प्रदेशमा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ६० नगरपालिका, १०८ गाउँपालिका रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन पाउने व्यवस्था रहेको छ ।

हालैमात्र सम्पन्न प्रदेशसभा निर्वाचनबाट निर्वाचित ५६ र बाँकी समानुपातिकतर्फ गरी जम्मा ९३ जना प्रदेश सभासद निर्वाचनमा सहभागी हुन पाउनेछन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १ नं प्रदेशवाट आठजना निर्वाचित हुनेछन् जसमा खुल्ला तर्फ तीन, महिला तीन र दलित एक आरक्षित रहनेछन् । त्यसमा अन्य थप तीनजना मनोनित हुने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमका लागि २१ राजनीतिक दलले दल दर्ता गराएका छन् ।

Advertisement

Advertisement

Advertisement