पोखराका ट्याक्सी व्यवसायीको 'दादागिरी' अन्त्य, मिटरमै चल्न बाध्य भए

Advertisement

कास्की: लगातार तीन दिनदेखि आन्दोलनरत पोखराका ट्याक्सी व्यवसायीहरू अन्ततः मिटरमै ट्याक्सी चलाउन सहमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको द्विपक्षीय छलफलमा व्यवसायीहरु मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्न सहमत भएका हुन् ।

मुलुकको सङ्क्रमणकालिन अवस्थाको फाइदा उठाउदै व्यवसायीले १५ बर्षदेखि बिना मिटर मोलतोलका भरमा आफुखुशी पैसा लिदै आएका थिए ।

ट्याक्सी चालकले मिटर नचलाई आफुखुशी मनलाग्दो भाडा लिएर ठगी गरेको सर्वसाधारणको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यलय कास्कीको निर्देशनमा ट्राफिक प्रहरीले मङ्गलवार १८ जना चालक पक्राउ गरेपछि व्यवसायी तथा चालक आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनका क्रममा पृथ्वीचोकमा बुधवार सडक जाम गरेर हडताल गरेका ट्याक्सी चालकविरुद्ध प्रहरी सशक्तरुपमा उत्रिएपछि गण्डकी अञ्चलमा रहेका अन्य सार्वजनिक यातायात व्यवसायीले समेत सेवा अवरुद्ध गरेका थिए ।

चालकको पक्राउ र मिटर सञ्चालनका सम्बन्धमा प्रशासन र व्यवसायी बीच बिहीवार र शुक्रवार दुई चरणमा वार्ता भएको थियो । शुक्रवारको वार्तामा तत्कालै ट्याक्सीको भाडा मिटर सिस्टमकै आधारमा लागू गर्ने र प्रशासनले भाडा समायोजनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गर्ने सहमति जुटेको हो ।

मिटर सिस्टम लागू गराउने भन्दै ट्याक्सीचालक तथा व्यवसायीको आन्दोलन विफल पार्न दिलोज्यानले आफै सडकमा उत्रिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले मिटरमा नचलाए कारबाही गर्ने बताएका छन् । ‘हाम्रो काम कानुन पालना गराउने हो, त्यही गरेका थियौं र गर्छाैं’, उनले भने, ‘फेरि पनि ट्याक्सी मिटरमा नचलाए कारबाही हुन्छ ।’

कुनैपनि ट्याक्सी मिटरमा चल्न आनाकानी गरे नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको इमरजेन्सी नम्बरमा फोन सम्पर्क गर्न सर्वसाधारणलाई एसपी सिंहले आग्रह गरे । सिंहले सर्वसाधारणलाई ठगी हुनबाट बचाउन छुट्टै युनिट ‘कन्जुमर प्रोटेक्सन स्क्वायर’ गठन गरेको बताउदै कसैले ठगीएको उजुरी गर्ने बित्तिकै सो टिम तत्कालै घट्नास्थल पुगेर कारबाही गर्ने बताए ।

सरकारले तोकेको भाडादरमै ट्याक्सी चलाउने र भाडा समायोजनका लागि सिफारिस गर्ने सहमति बनेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले जानकारी दिए । पोखरामा २ हजार २ सय ट्याक्सी सञ्चालन हुदै आएकाछन् । अब, भने सुरुमा १४ रुपियाँमा भाडा उठ्दै जाने छ । भाडादर प्रतिकिलोमिटर ३७ रुपैयाँ लाग्ने गरी सरकारले भाडा निर्धारण गरेको छ ।

व्यवसायीले भने पाँच वर्षदेखि भाडा समायोजन नभएको भन्दै त्यतिमा यात्रु ओसारपसार गर्न नसकिने बताउँदै आएका छन् । ट्याक्सी व्यवसायी समितिका निवर्तमान अध्यक्ष गान्धिराज गिरीले प्रशासनले बल प्रयोग गरेर व्यवसायीलाई बाध्य बनाएपनि सम्भव नभएको बताए ।

Advertisement

Advertisement

Advertisement