दक्षिण एसियाली हस्तकला महोत्सवमा क्षेत्रीय चुनौती र सिकाइबारे चर्चा

Advertisement

काठमाडौंः राजधानीमा जारी दक्षिण एसियाली हस्तकला महोत्सवको दोस्रो दिन दक्षिण एसियाका विज्ञ तथा उद्यमीहरुले यस क्षेत्रका साझा समस्याबारे छलफल गर्दै सिकाईहरु आदानप्रदान गरेका छन् ।

नेपाली कालिगढहरुले उत्पादन गरेको नेपालको ब्राण्डका हस्तकला सामग्रीको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले गरिबी निवारण कोषले महोत्सवको आयोजना गरेको हो ।

कोषले सञ्चालित गरेको द्धन्द्ध प्रभावितका लागि बजार निर्माण परियोजनाअन्तर्गत उत्पादित हस्तकलाको महोत्सवमा प्रदर्शनी गरिएको छ । यो परियोजना जापान सामाजिक विकास कोषको सहयोग र बिश्व बैंकको व्यवस्थापनमा नेपालका सात जिल्लामा चलिरहेको छ ।

शनिबारको कार्यक्रममा कोषका कार्यकारी निर्देशक नहकुल केसी र राष्ट्रिय योजना आयोगकी पुर्व सदस्य डा. बिमला राईलगायतले ग्रामीण अर्थतन्त्रमा हस्तकला उद्योगले कसरी भूमिका खेल्न सक्छ भन्नेमा चर्चा गरे ।

कोषका कार्यकारी निर्देशक केसीले हस्तकला उद्योगको विकासले रोजगारीको अवसरहरु सिर्जना गर्ने र युवाहरुलाई जीविकोपार्जनका विविध उपायहरुको खोजी गर्न उत्प्रेरित गर्ने बताए ।

यस्तै इन्दुज हेरिटेज फाउन्डेसन पाकिस्तानका अध्यक्ष सिद्धिका मलिकले समान संस्कृति भएको दक्षिण एसियाली क्षेत्रमा हस्तकला सामग्रीहरुको अन्तरदेशीय व्यापारमा अझै समस्या रहेको बताइन । उनले यस्तो समस्या समाधान गर्न साझा निकास खोजिनुपर्ने बताइन ।

एसियन हेरिटेज फाउन्डेशन, भारतका कार्यकारी निर्देशक अंकुश सेठले कला उद्योगले दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रलाई पुनर्ताजगी गर्नसक्ने सम्भावना बोकेको बताए ।

लैङिक तथा सामाजिक अर्थशास्त्री डा. बिना प्रधानले ग्रामीण महिलाहरुलाई अझै समस्या रहेको बताउँदै महिला कालिगढहरुलाई सशक्तिकरण गर्न ठोस कार्यक्रमहरु ल्याउनुपर्ने बताइन् ।

महिला उद्यमी महासंघ नेपालकी रीता सिंहाले सीप भएर पनि आधुनिक प्रविधि नभएर हस्तकलाको अपेक्षित प्रवद्र्धन हुन नसकेको बताइन । उनले अब प्रविधि विकासमा ध्यान दिनुपर्ने बताइन ।

महोत्सवमा नेपालका १०० भन्दा बढी कालिगढसहित भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू प्रदर्शन भइरहेको छ । यो महोत्सव आइतबार सकिँदैछ ।

south-asian-handicap

Advertisement

Advertisement

Advertisement