८५ प्रतिशत उजुरी आर्थिक अपराध, सबैभन्दा बढी बैंकिङ कसुर सम्बन्धि

Advertisement

काठमाडौँ: नेपाल प्रहरीमा दर्ता भएका करिव ८५ प्रतिशत उजुरी आर्थिक अपराधसँग जोडिएका छन्। तथ्यांकअनुसार कुल उजुरीको ८५ देखि ९० प्रतिशत हिस्सा बैंकिङ कसुर, ठगी, अंशवण्डा विवाद, चोरी-डकैती, जबर्जस्ती चन्दा-फिरौती असुल, चेक बाउन्स लगायतका वित्तीय अपराधका घटनासँग सम्बन्धित छन्। यो खबर आजको कारोबारमा छ।

प्रहरीका अनुसार वित्तीय अपराधबाट वार्षिक १८ देखि २० अर्ब रूपैयाँभन्दा बढी नोक्सान भएको दावीसहित संस्थागत र व्यक्तिगत रूपमा उजुरी पर्ने गरेको छ।

व्यक्ति हत्या, अपहरण, चोरी-डकैती, बैंक-वित्तीय संस्थाको रकम हिनामिना, चेक बाउन्स, अवैध हातहतियार तथा लागूपदार्थ ओसारपसार, सुन तस्करी, विदेशी मुद्रा अपचलनदेखि अंशवण्डा र वैदेशिक रोजगारी ठगीका नाममा ठगी पछिल्ला दिनहरूमा हुने गरेका आर्थिक अपराधमा आधार भएको प्रहरीले जनाएको छ।

आर्थिक लेनदेनमा पारिवारिक कलह हुँदासमेत बर्सेनि २ हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन्। अपराध बढ्नुको मूल कारणलाई प्रहरीले गरिबी, प्रतिशोध, वैदेशिक रोजगारी, अंशवण्डा विवाद, छिट्टै सम्पत्ति आर्जन गर्ने अभिलाशा, असफल प्रेम, प्रविधिको दुरूपयोग, अरुको उक्साहट लगायतलाई औंल्याएको छ। बाँकी अपराधका घटना भने आबेग, प्रतिशोध, रिसइवी र निराशका कारण हुने गरेको अनुसन्धानमा संलग्न ती अधिकारीको भनाई छ।

अपराधमा सबैभन्दा बढी उजुरी उपत्यकास्थित प्रहरी कार्यालयहरूमा दर्ता हुने गरेको तथ्यांकमा देखिन्छ। “दैनिक दर्ता हुने अपराधसँग सम्वन्धित उजुरीमध्ये अधिकांश चोरी, वैदेशिक रोजगार ठगी, सापटी÷लेनदेन विवाद, चेकबाउन्स लगायतसँग केन्द्रित हुन्छन्,” एक अनुसन्धान अधिकृत भन्छन्, “अदालत र जिल्ला प्रशासन कार्यालयहरूबाट सम्बोधन हुने विषय पनि छिटो सम्बोधन हुने आशमा पीडितहरू प्रहरीसमक्ष नै आउने गरेको पाइन्छ।”

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख डीआइजी पुस्कर कार्की पनि जुनसुकै अपराधको मूल कारण आर्थिक विषय भएको बताउँछन्। “एकाध बाहेक अपराधको एउटै उद्देश्य आर्थिक आर्जन नै देखिन्छ,” डीआईजी कार्की भन्छन्, “हामीले पनि हरेक किसिमका अपराधको अनुसन्धानमा आर्थिक कारोबारसँग पनि जोडेर हेर्ने गरेका छौं।” गुन्डागर्दीदेखि स्थानीय झैझगडासमेत पैसाकै कारण अपराध मौलाएको डीआइजी कार्कीको टिप्पणी छ।

अपराधको अनुपात सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कम देखिएको छ। सन् २०१७ मा अपराधका करिव २६ हजार उजुरी दर्ता भएकोमा २० देखि २२ हजार उजुरी कुनै न कुनै रूपमा आर्थिक अपराधसँग जोडिएका छन्। अपराधको यही अनुपात कायम रहने हो भने मासिक १ हजार ८ सय देखि २ हजार र दैनिक ७० देखि ८० उजुरी आर्थिक अपराधसँग सम्बन्धित हुने गरेको देखिन्छ।

सन् २०१६ मा देशभरका प्रहरी कर्यालयमा ३१ हजार ४ सय ६२ अपराधका उजुरी दर्ता भएकोमा २५ हजारभन्दा बढी उजुरी वित्तीय अपराधसँग जोडिएका थिए।

सन् २०१ र सन् २०१७ मा अपराधको ग्राफ केही हजारको मात्रै अन्तर भएको तर वित्तीय अपराधको हिस्सा भने अघिल्लो वर्षकै हाराहारीमा रहेको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एक अधिकारीले जानकारी दिए। गत वर्ष ३१ हजारभन्दा बढी अपराधका उजुरीमा करिव ३५ हजार अभियुक्त संलग्न रहेकोमा ५ हजार भन्दा बढी फरार थिए। सन् २०१७ मा अपराध गरेर फरार हुने अभियुक्तको संख्या ४ हजार भन्दा बढी छ।

Advertisement

Advertisement

Advertisement