लगानीकर्तामा उत्साह देखिएन, सेयर बजार घट्ने क्रम अझै जारी, कारोबार ३३ करोड पनि पुगेन

Advertisement

काठमाडौंः पछिल्ला दिनमा उतार चढावमा रहेको सेयर बजार आज आइतबार पनि गिरावट भएको छ । सेयर बजार परिसुचक नेप्से आज झण्डै दोहोरो अंकले घटेर एक हजार ४३१ अंक कायम भएको छ । आज नेप्से ९ दशमलव १९ अंकले घटेको हो ।

सेयर बजारमा कारोबारमा पनि निकै शिथिलता आएको छ । आज ३३ करोड रुपियाँको पनि सेयर किनबेच हुन सकेन । बजारमा अन्योलता कायमै रहँदा र संस्थागत लगानीकर्ताहरु चुप लागेर बस्दा साना लगानीकर्ताहरु पनि पर्ख र हेरको स्थितिमा बस्न बाध्य भएका छन् ।

अर्कोतर्फ सरकार गठनमा भएको ढिलाई र वामगठवन्धनको निर्माण गर्ने अनुमान गरिएको सरकारले लिने आर्थिक नीतिप्रति लगानीकर्तामा अन्योलता रहँदा त्यसको प्रभावसमेत बजारमा परको हुनसक्ने अनुमान छ । धेरै कम्पनीहरुले तोकिएको चुक्ता पुँजी पुर्याएसँगै हकप्रद र बोनस सेयर घोषणा गर्ने अवस्था नरहेकाले पनि लगानीकर्ताहरु सेयर किन्न रुची नदेखाएको हुनसक्ने देखिन्छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको एक करोड ९३ लाखको सेयर खरिद बिक्री भएको छ । जलविद्युत समूहका लगानीकर्ताले आज राम्रै कमाई गरे पनि बाँकी अधिकांश समूहका लगानीकर्ताले भने घाटा सहनुपरेको छ ।

Advertisement

Advertisement

Advertisement