सरकारी सिमेन्टकै मूल्य प्रतिबोरा १०० रुपियाँले बढ्यो

Advertisement

हेटौंडाः सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा १०० रुपियाँ भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको हो ।

उद्योगको सञ्चालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १०३ रुपियाँ ३५ पैसा मूल्य वृद्धि गरेको हो । अहिले सिमेन्टको मूल्य भ्याटसहित प्रतिबोरा ९१२ रुपियाँ बिक्री मूल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७९५ रुपियाँमा बिक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिँदै आएको कमिशनमा समेत वृद्धि गरेको छ ।

प्रतिबोरा १० रुपियाँ कमिशन दिँदै आएकामा अब १५ पुर्याएको छ । मूल्य वृद्धि गर्नुअघि उपभोक्ताले प्रतिबोरा ८३० रुपियाँमा सिमेन्ट खरिद गर्ने गरेकामा अहिले ९४० रुपियाँ प्रतिबोरा सिमेन्टको मूल्य पुगेको छ । ९४० रुपियाँमा हेटौँडाका डिलरले सिमेन्ट बिक्री गरिरहेका छन् ।

शिवम्, उदयपुरलगायत सिमेन्ट उद्योगले सिमेन्टको मूल्य वृद्धि गरेको र कच्चा पदार्थको मूल्य वृद्धि भएकाले बाध्य भएर हेटौँडा सिमेन्ट उद्योगले पनि मूल्य वृद्धि गर्नुपरेको सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।

Advertisement

Advertisement

Advertisement