अर्काको देशको जागिरभन्दा आफ्नै देशमा गाईपालन ठिक !

Advertisement

रामपुर, पाल्पाः खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्केका पाल्पाका युवा गाईपालनबाट यथेष्ट कमाइ गर्न सफल भएका छन् ।

दाम र कामको खोजीमा साहुसँग ठूलो ऋण झिकेर खाडी मुलुकमा पुगेका युवाले पशुपालनलाई पछिल्लो समय आम्दानीको बलियो र दिगो माध्यमबा रुपमा अपनाएका छन् ।

रामपुरका गणेश आचार्यले तीन वर्ष खाडीमा समय बिताएर गाउँमै फर्की गाईपालन व्यवसाय थालेका छन् । जर्सी र होलस्टिन जातका गाई पालेर आचार्यले मासिकरुपमा खर्च कटाएर रु ६० हजार आम्दानी गर्छन ।

त्यस्तै ज्ञानराज पोखरेललाई पनि विदेशबाट फर्केपछि आम्दानीको बाटो बनेको छ गाईपालन व्यवसाय । विदेशमा गई पैसा प्रशस्त कमाउने र परिवारलाई सुख सुविधाका साथ लालनपालन गर्ने सोच राखेका पोखरेलले सोचेअनुसारको कमाइ नभएपछि स्वदेश फर्की गाईपालन व्यवसाय थालनी गरेका हुन ।

तीन वर्ष साउदीमा पसिना बगाएर स्वदेश फर्किएका पोखरेल अहिले रामपुरकै नमूना व्यवसायीका रुपमा चिनिन थालेका छन् । उनको फार्ममा हाल १२ वटा उन्नत जातका गाई रहेका छन् । पोखरेलले दैनिक ५० लिटर दूध उत्पादन गरेर मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्छन ।

उनी भन्छन, “घरमै बसेर खर्च कटाएर मासिक रु ५० हजारजति आम्दानी हुन्छ, विदेशमा वर्षको रु एक लाख पनि कमाइ हुन्न, विदेश जानुअघि धेरै इच्छा, आशा मनमा हुन्छ, गएपछि सबै सपना खाडीमा विहीन हुन्छ ।”

बौघा पोखराथोकका कृषक रुकबहादुर रेश्मी पनि दुई वर्षसम्म बहराइन बसे । विदेशबाट फर्केलगत्तै गाईफार्म चलाएका रेश्मीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्छन ।

विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने रेश्मीको सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । “घरमै बसेर व्यवसाय गरियो भने पर्याप्त कमाउन सकिने रहेछ भन्ने अहिले चेतना जागेको छ”,उनले भने ।

जिल्लामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० भन्दा बढी युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, चापकटर मेशिन, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएपछि जिल्लामा पशुपालनमा युवाको आकर्षण बढेको पशु चिकित्सक उत्तम आचार्यले जानकारी दिए ।

विदेशको लगानी कृषिमा गरियो भने प्रशस्त कमाइ गर्न सकिन्छ । स्वदेशमै बसेर यथेष्ट आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि युवा विदेशिने गरेका छन् । विदेशको पीडा भोगेपछि हिजोआज युवा गाउँमै बसेर पशुपालनमा लाग्न थालेका छन् ।

Advertisement

Advertisement

Advertisement