गतवर्षको तुलनामा स्याङ्जामा सुन्तला उत्पादनमा कमी

Advertisement

वालिङः गतवर्षको तुलनामा स्याङ्जामा यसवर्ष ३४ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ । यसवर्ष सुन्तला फूल खेल्ने बेलामा असिना पानी, हावाहुरीलगायत कारणले उत्पादनमा कमी आएको हो ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यसवर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

गतवर्ष एक हजार ८४२ हेक्टर क्षेत्रफलमा २० हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसवर्ष सोही क्षेत्रफलमा १३ हजार मेट्रिक टनमात्रै सुन्तला उत्पादन भएको छ ।

मीठो र स्वादिलो सुन्तलाका लागि चिनिने स्याङ्जामा सुन्तलाकाकै क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत सुन्तला जोनका रुपमा काम अगाडि बढाइएको छ । गतवर्ष ३३ करोड रुपियाँ बराबरको सुन्तलाको कारोबार भएको जिल्लामा यसवर्ष २२ करोड रुपियाँको कारोबार भएको कार्यालयले जनाएको छ ।

कात्तिकदेखि शुरु भएको सुन्तला बिक्री अहिलेसम्म पनि जारी छ । शुरुवातमा प्रतिकिलो ३५ रुपियाँमा बिक्री शुरु भएको सुन्तलाको मूल्य अहिले करिब १०० रुपियाँको हाराहारीमा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement