पौडेल पक्षको दबाबपछि देउवाले बोलाए केन्द्रीय समितिको बैठक

Advertisement

काठमाडौंः कांग्रेसमा रामचन्द्र पौडेल पक्षको दबाबपछि केन्द्रीय समितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवा बाध्य भएका छन् । स्थानीयदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूलो पराजयपछि देउवालाई केन्द्रीय समिति, महासमिति र विशेष महाधिवेशन बोलाउन तथा सभापतिबाट समेत राजीनामा दिनसमेत दबाब पर्दै आएको छ ।

सोमबार वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालाले देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । देउवाले बिहीबार बिहान ११ बजेलाई केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्नेछ ।

देउवासँगको भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको विधान विपरित गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न पनि आग्रह गरेका थिए ।

पौडेल पक्षले कम्युनिष्टहरुको रणनीतिका अगाडि काँग्रेस कमजोर बनेको, जनता र
कार्यकर्तामा आशा जगाउने काम हुन नसकेको, पार्टीलाई गतिशील ढंगले अगाडि बढाउन नसकिएको भन्दै अब नयाँ ढंगबाट अघि बढनुपर्ने बताएको थियो ।

केन्द्रीय समितिमा काँग्रेसको पराजय र राष्ट्रिय सभाका उम्मेदवारहरु चयन गर्ने लगायतका विषयमा केन्द्रीत हुने जनाइएको छ । बैठक बोलाउन ढिलो गरे पार्टी सभापतिविरुद्ध नै हस्ताक्षर अभियान चलाउने चेतावनी पौडेले पक्षले दिएपछि आफूले जतिसक्दो चाँडो बैठक बनाउन तयार रहेको देउवाले बताएका थिए ।

Advertisement

Advertisement

Advertisement