विवाह जटिल बन्दै किन गयो ? समीक्षा गर्दै सुधार्ने कि अझ दलदलमा फस्ने ?

diwakar-panta

लेखक

मकर सक्रान्तिसँगै विवाहका मुहुर्तका श्रृखला आरम्भ हुन्छन् । माघ महिना शुरु भएसँगै फागुन, वैशाख, जेठ, असार महिनामा सामान्यतया विवाहका मुहुर्त रहेका हुन्छन् । मुहुर्त नहुने भए पनि पछिल्लो समय यता बडा दशैंको नवरात्रमा विवाह गर्ने प्रचलन पनि छ । कुनै पनि व्यक्तिको जीवनमा विवाह अति नै महत्वपूर्ण कर्म हुने भएकाले यसबारे चर्चा गर्ने उद्देश्यले यो लेख लेखेको छु ।

हाम्रो शास्त्रहरुमा र हाम्रो संस्कृतिले विवाहलाई अति नै पवित्र कार्य भनि व्याख्या गरेको छ । विवाहलाई उत्सवका रुपमा परिवारले मात्र होइन समाजले मनाउने गर्छ । विवाह जीवनको मुख्य आधार भएकाले नै होला विवाह गर्दा धेरै नै ध्यान दिनुपर्छ भनिएको छ । त्यसैले एउटा लोकोक्ति प्रचलित छ “मुलको पानी खानु कुलको केटा÷केटी विवाह गर्नु” । साथै, “ज्यूँदोको जन्ति र मर्दाको मलामी” भनि निकताको सन्देश दिने गरिन्छ । जतिसुकै विवाद भएको भए पनि वा बोलिचालि नै बन्द भएको भए पनि नजिकको नातेदार वा छिमेकीको परिवारमा हुने विवाहमा जाने गरिन्छ । यसरी विवाहलाई ठूलो उत्सवका रुपमा लिने प्रचलन बसालिएको छ । साथै कोही पनि व्यक्तिको जीवन बचाउन वा विवाहका लागि केही झुट बोल्न पनि हुन्छ भनि भनिएको छ ।

united_cement

यति महत्वपूर्ण घटनाक्रम हुने भए पनि आजभोलि समाजमा विवाह किन अति नै जटिल विषय बनेको छ त ? समाजमा विवाह धेरै कारणले गर्दा जटिल बन्दै गएकाले आजभोलि विवाह योग्य उमेर भइसकेका वा कतिपय उमेर कटिसकेका युवा युवती कठिन अवस्थाबाट गुज्रने गरेको पाइएको छ । यस्तो अवस्थाले स्वयं व्यक्तिमा अनेकौ समस्या उत्पन्न गर्नुका साथै उनीहरुको परिवारका सदस्यहरुमा समेत कठिनाई उत्पन्न हुने गरेको छ । साथै, त्यसले समग्र परिवारको सामाजिक जीवनमा पनि नकारात्मक प्रभाव उत्पन्न गरिदिएको छ । हुन त कोही कुनै व्यक्तिको विवाह हुनु वा नहुनु सो व्यक्तिको नितान्त व्यक्तिगत विषय भएता पनि सो विषय सामाजिक र पारिवारिक विषय पनि हो । जसले गर्दा स्वयम व्यक्ति वा उसको परिवारले वहन गर्नुपर्ने सामाजिक उत्तरदायित्वको जवाफ समाजले खोज्ने हुँदा त्यहाँनेर असहज स्थिति उत्पन्न हुन पुग्दछ ।

शहरीकरण र जीवनशैली
शहरीकरणले स्वभाविक रुपमा मानिसको जीवनशैलीमा परिवर्तन ल्याई दिन्छ । नेपालमा पनि पछिल्लो समय तीब्ररुपमा बढिरहेको शहरीकरणले ठूलो जनसंख्याको जीवनमा उथलपुथल ल्याईदिएको छ । जन्म गाउँमा भएको भए पनि वा ग्रामीण पृष्ठभूमी हुँदाहुँदै पनि शहर झरेपछि महत्वाकांक्षाका चाङ मान्छेको जीवनमा ह्वात्तै बढ्ने गरेको देखिएको छ । साथै, आफनो स्ट्याटस बढेको आभाष धेरै शहरियाले गर्न पुग्दछन् ।

त्यसका साथै, सुखमय जीवन खोज्ने क्रममा, करियरको खोजीमा युवा वर्गको उर्जाशील समय बित्न पुग्दछ । त्यसैमाथि विवाह गरेमा प्रगति रोकिने भ्रमको भार युवा वर्गमा बढेको देखिन्छ । अविकसित देश भएका कारण नेपालमा पढेलेखेका वा हातमा सीप भएकै व्यक्तिहरु पनि छोटो समयमा करियरमा सेट हुने स्थिति छैन । यस्तो अवस्थामा केवल करियर र निश्चित आर्थिक हैसियत भएपछि मात्र जीवन हुन्छ भन्ने भ्रमबाट युवा वर्ग गाँजिन पुगेको छ । तर, यथार्थमा त्यसो नभई सन्तुलित वैवाहिक जीवनले आर्थिक उन्नतिका यात्रा सहज बनाउँछ । साथै, जोखिम वहन गर्नसक्ने यथार्थ आँकलन गर्नसमेत वैवाहिक जीवनपछि सहज हुन्छ । विवाहपछि अध्ययन, करियर आदिलाई उत्साहपूर्ण तरिकाले अघि बढाइरहेका धेरै जोडि समाजमा देख्न सकिन्छ । नसक्नेले विवाहपछि पनि सक्दैन र विवाह अघि पनि सक्दैन । त्यसलाई के अनौठो अवस्था मान्नु पर्ने हो र ?

हो, बालविवाहले मानिसको जीवनमा क्षति पुर्याउँछ । तर, उमेर पुगि सकेपछि विवाह गर्दा प्रगतिमा कसरी समस्या आउँछ ? यो भ्रम शहरीया युवायुवतीको दिमागबाट हट्न नसक्दा समस्याका चाँङ तीनको जीवनमा थुप्रिएको छ ।

आर्थिक भार थेग्न कठिन
समाजमा विवाह निकै खर्चिलो पनि बन्दै गएको छ । जसले गर्दा विवाह योग्य युवा युवतीको अभिभावकमा आर्थिक दबाब उत्पन्न हुन पुगेको छ । नेपाली समाजमा चलिआएको सहयोगात्मक विवाह पद्दति आजभोलि पार्टी प्यालेसमा पुगेपछि लाखौं रुपैयाँ जोहो नगरी विवाह नहुने अवस्था आएको छ । पहिलाको सहयोगात्मक विवाहमा विवाहमा सहभागी हुने नातेदार सदस्यहरु आफै–आफै पकाउने कुरामा देखि अन्य सबै विषयमा सहभागी हुनेगर्थे, जसले गर्दा पहिला विवाहमा कम खर्चले पनि जोहो टथ्र्याे । तर, आजभोलि धेरै संख्याका पाहुनालाई बोलाउनुपर्ने र तीनलाई पार्टी प्यालेसमा रक्सीसहितको भव्य भोज खुबाउने खर्चले औसत आम्दानी हुने अभिभावकलाई आफनो छोराछोरीको विवाह सम्पन्न गर्नु ठूलो चुनौति सामना गर्नु बनेको छ । यसले पनि विवाहलाई पछि धकेल्ने गरेको छ ।

त्यत्ति मात्र होइन तराईमा महारोगका रुपमा रहेको दाइजो प्रथाले शहरीयालाई पनि गाँज्न पुगेको छ । इज्जतका लागि पनि भन्दै दुइचार ट्रक दाइजोका सामान लोड गर्दा अभिभावकको ढाड सेकिएको कहीं कतै देखिंदैन । सक्नेले त इज्जयतका लागि भन्दै गर्लान तर त्यसको अति नकारात्मक असर समाजमा छताछुल्ल बन्न पुगेको छ । त्यसले मध्यम आयस्रोत भएका र मेहनतले कमाई गर्ने अभिभावकलाई कठिन बनाइदिने गरेको छ । यसले पनि विवाहलाई जटिल र पर धकेल्ने काम गरेको छ ।

यस्तो जटिलता फुकाउन सरल तरिकाले विवाह गर्ने पद्दति संरक्षण गर्न आवश्यक छ । साथै सामुहिक विवाह गर्ने परिपाटीलाई ब्यापक बनाउन सके अनावश्यक खर्चले सिर्जना गर्ने आर्थिक बोझको समस्या कम गर्न सकिन्छ । यो दायित्व समाजको नै हो ।

परदेशी जीवन
नेपाली समाजमा विवाह जटिल बन्दै जानुको कारणमध्ये धेरै जसो युवा युवती विदेशमा जानु वा रहनु पनि हो । देशमा रोजगारीको अभाव भएपछि विदेशिन पुगेका युवा युवतीको वैवाहिक जीवन जटिलताबाट गुज्रन पुगेको छ । विवाहका लागि आफ्नो जोडि खोज्दा नै समस्या हुने गरेको छ । आजभोलि सामाजिक सञ्जालले सम्भावित आफनो जोडिका बारेमा जान्नका लागि केही सहज बनाई दिएको भए पनि यसले अरु खतराहरु पनि संगै निम्त्याएको छ ।

विदेश रहेका केटा वा केटी विवाहका लागि नेपाल आउने र छोटो समयमा विवाह गरि छोटै समयमा फेरि विदेश लाग्दा स्वयं नवविवाहित दम्पत्तिका बीच नै सामिप्यता हुन नपाउने अवस्था सिर्जना भएको छ । त्यसले सिर्जना गर्ने जटिलताले विवाह गर्न चाहने अन्य युवा युवतीमा समेत त्यस्तै खाले दुर्दशा त हुने होइन भन्ने मनोत्रास उत्पन्न गर्ने गरेको देखिन्छ । साथै, विदेशमा बस्ने र नेपालमा नै बस्नेको बीच विकास भएको बानी ब्यहोराको अन्तरले पनि वैवाहिक जीवनलाई सुमधुर बनाउन दिएको छैन ।

साथै, विदेशमा रहनेका परिवारमा विकास भएको खर्चालु बानीले पारिवारिक जीवनको शैलीलाई बदलिदिएको छ । यसले विचारको अन्तर उत्पन्न गर्ने गरेको र त्यो बढ्दै जाने खतरा देखिने गरेको छ ।

लचकताको अभाव
जीवन सोह्रै आना वा सय प्रतिशत नै चाहेको पाउने यात्रा होइन । यो अनवरत सुख दुःखको यात्रा हो । तर, यो यथार्थता नवयुवा युवतीले बुझ्ने गरेको देखिंदैन । मैले चाहेको जस्तै केटी पाए विवाह गर्छु वा मैले चाहेको जस्तै केटो पाएमा विवाह गर्छु भनेर अड्डी लिंदा धेरैको जवानी घर्केको देखिन्छ ।

व्यक्ति स्वयममा पनि सवल र दुर्वल पक्ष हुन्छन् । यो दुनियाँमा कोही पनि सतप्रतिशत ठिक हुनै सक्दैन । आफूलाई धेरै राम्रो मान्ने र अरुलाई कमजोर ठान्ने प्रवृत्ति वैवाहित प्रसङ्ग अघि बढाउन बाधक सोच हो । त्यत्ति मात्र होइन कतिपय परिवारले आफनो गरिमा धान्ने नाममा आफना परिवारका विवाह योग्य सन्ततिको जीवन ध्वस्त पार्ने गर्छन । पारिवारिक इगोलाई अतिवादी ढंगले अघि सार्दा त्यसको असर पारिवारिक सदस्यमा पर्ने हुन्छ । व्यक्तिको सम्भावना हेर्ने हो न कि उसको अतित मात्र । यदि सम्भावना बोक्ने व्यक्ति छ र उसलाई अलिकति भए पनि साथ दिँदा प्रगतिको दिशा समात्न सक्छ भने किन त्यस्तोमा अघि नबढ्ने भन्ने ? सोच नेपाली समाजमा घट्दो पनि छ । अहिले नै सबै कुराले परिपूर्ण भएको व्यक्ति र परिवारमा म छोराको विवाह गर्छु वा छोरी दिन्छु भन्दा विवाह सतत् ढंगले अघि बढ्न सक्दैन ।

पढेलेखेको भ्रम
तपाईंले गहिरो गरि हेर्नुभयो भने केही वर्ष अघिसम्म देशका उच्च पदमा पुगेका अधिकांश पुरुषहरुको श्रीमती अनपढ हुने गर्थे । तर, उनीहरुको वैवाहिक पारिवारिक जीवन सुमधुर साथ चलिरहेकै थियो । तर, आजभोलि आफनो पढाईलाई अघि सारेर आफनो साझेदार पाटर्नर पनि उत्तिकै पढे लेखेको भए मात्र हुन्छ भन्ने मानसिकता हावी भएको छ । हो, मिलेसम्म उत्तिकै उत्तिकै डिग्री लिएको श्रीमान श्रीमती हुँदा अति उत्तम । तर, कहिलेकाँही नमिलेमा पनि त जीवन चल्न सक्छ नि त ।

जीवन कुनै पनि विश्वविद्यालयको डिग्री लिएपछि मात्र सुन्दर हुने होइन । त्यसो हुँदो हो त विश्वका उत्कृष्ट विश्वविद्यालयबाट डिग्री लिएकाहरुको डिभोर्स हुने नै थिएन । तर, आजभोलि हेर्ने हो भने राम्रो पढे लेखेकाहरुको वैवाहिक जीवनमा बढि डिभोर्स हुने गरेको छ । त्यसको कारण हो लचकताको अभाव । श्रीमान श्रीमतीबीच दुवैमा स–साना विषयमा लचकता अपनाउने खुवी भएन भने त्यसको विष्फोटन हुन्छ र त्यो घातक हुन्छ । त्यसकारण वैवाहिक जीवनमा पाटर्नर खोज्दा पनि ठ्याक्कै यति पढे लेखेको भन्दा पनि पढे लेखेकोसँगै समझदार खोज्दा जीवन सही दिशामा अघि बढ्न सक्छ ।

एउटामा भएको कमजोरी अर्काेले धान्ने हो न की दुवैमा उत्तिकै क्षमताको खोजी । यो व्यवहारिक विश्वविद्यालयबाट सिक्ने कुरा हो नकी विश्वविद्यालयको डिग्रीबाट ।

जीवन “साझेदारी यात्रा” हो
जीवनको परिभाषा के हो ? आजसम्म कसैले यसको सबैलाई चित्त बुझ्दो जवाफ दिएको छैन । आफैले दिएको परिभाषा मात्र आफैका लागि सुहाउँदो जीवनको परिभाषा हो । तर, पनि सामान्य कुरा के हो भने जीवन सहअस्थित्व र साझेदारी हो । एउटा मात्र मान्छेले जीवन जीउन सक्दैन । उसलाई साथ दिने पनि हुन्छन र साथ खोज्ने पनि हुन्छन् ।

उसो भए वैवाहिक जीवन पनि एक साझेदारी यात्रा हो । कहीं आफूले साथ दिने कहीं आफूले साथ खोज्ने । साभेदारीमा प्राप्ति मात्र खोज्यो भने असन्तुलन भइहाल्छ । त्यसैले विवाहयोग्य वर बधुले आफूलाई पहिला जीवनको तराजुमा राखेर जोखौं । आफनो तौल कति हो ? आफनो अस्थित्व कति हो ? अनि मात्र अर्काे पाटर्नरको तौल नापांै, अस्थित्व नापौं । तब मात्र यथार्थ धरातलीय निर्णयमा पुग्न सकिन्छ ।

एउटा ज्योतिषका नाताले समाजका विभिन्न विषयमा नजर पु¥याउनु र त्यसबारे विवेचना गरि समाजलाई अघि बढाउनु दायित्व हुन आउँछ । सोही श्रृखला अन्तर्गत विवाहका सिजन आएकाले यो लेख विवाहसम्बन्धी दोस्रो श्रृखलाका रुपमा तयार पारेको हुँ । विवाह बारे सोचिरहनु भएका सबैमा सफल वैवाहिक यात्राका लागि हार्दिक मंगलमय शुभकामना । भगवानले सदैव आशिर्वाद दिनुहोस् ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)