ट्राफिकले छ महिनामा एक करोड ६२ लाख कमायो !

Advertisement

रत्ननगरः ट्राफिक प्रहरीले गएको छ महिनामा नियम विपरीत चलाइएका २२ हजार सवारीसाधनका चालकलाई कारबाही गरेको छ । यसरी गरिएको कारबाहीबाट साउनदेखि पुससम्ममा एक करोड ६२ लाख रुपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

पुसमा तीन हजार ५०० सवारीसाधनका चालकलाई कारबाही गरी २४ लाख ७८ हजार रुपियाँ राजस्व संकलन गरिएको छ । मापसे गरी सवारी चलाउने ४०७ चालक कारबाहीमा परेका छन् ।

१३४ दुर्घटना, ६७ जनाको मृत्यु

ट्राफिक प्रहरीका अनुसार चालु वर्षको छ महिनामा १३४ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् । छ महिनाको अन्तरालमा विभिन्न क्षेत्रमा ट्राफिक संकेत टाँस्ने तथा बोर्ड राख्ने काम गरिएको छ ।

सडक सुरक्षाको विषयमा विद्यार्थीलाई प्रशिक्षण तथा विभिन्न स्थानमा ट्राफिक सन्देशमूलक कार्यक्रम गरिएको छ । दैनिकजसो जिल्लामा ट्राफिक सचेतना कार्यक्रम गरिँदैआएको निरीक्षक पन्तले जानकारी दिए । उनका अनुसार चालकसँग एक मिनेट र यात्रुसँग दुई मिनेट कार्यक्रम सञ्चालन गरी दुई हजारभन्दा बढीलाई सचेत गरिएको छ ।

पर्यापर्यटनबाट ६० लाख आम्दानी

पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट ६० लाख रुपियाँ आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार रुपियाँ आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।

गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले ३० लाख ५१ हजार रुपियाँ आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन् ।

जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप ५०० रुपियाँ लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति ५० रुपियाँ, भारतीयलाई १०० रुपियाँ र अन्य विदेशीलाई २०० रुपियाँ लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए ।

हात्ती प्रवेश टिकट बिक्रीबाट १३ लाख ७५ हजार रुपियाँ आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । डुंगा सवारबाट सात लाख ४८ हजार रुपियाँ, मचान टिकट बिक्री विदेशीबाट पाँच लाख ३१ हजार रुपियाँ, सोही शीर्षकमा नेपाली पर्यटकबाट ९४ हजार रुपियाँ आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ ।

यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत एक लाख ४५ हजार रुपियाँ, गिट्टी बालुवा बिक्रीबाट छ लाख तीन हजार रुपियाँ आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३/७४ मा यस वनले ६९ लाख १९ हजार रुपियाँ आम्दानी गरेको वनले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement