सिक्लेस जलविद्युतले नियमित १३ मेगावाट विद्युत् उत्पादन गर्ने

Advertisement

पोखराः कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न भएको सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ ।

डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएकाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने र विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिए ।

केसी कन्स्ट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघिदेखि शुरु गरेको सो आयोजनाबाट १३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कूल दुई अर्ब पाँच करोड रुपियाँको लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।

सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किमी केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सवस्टेशनमा जोडिएको छ ।

रन अफ द रिभर प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रति युनिट सात रुपियाँ र वर्षायामको समयमा प्रतियुनिट रु चारमा विद्युत् खरिद बिक्री गर्ने सम्झौता गरेको निर्देशक केसीले बताए ।

Advertisement

Advertisement

Advertisement