हुस्सुले आन्तरिक उडान प्रभावित भएपछि यात्रुलाई सास्ती

Advertisement

काठमाडौंः तराईमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न स्थानका आन्तरिक उडान प्रभावित भएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत स्थानको उडान प्रभावित भएको बताए । लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमा समेत पटक–पटक अवरोध हुँदै आएको छ ।

मुख्य गन्तव्यमा नियमित उडान नहुँदा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । निर्माणाधीन नारायणघाट–मुग्लिन सडकका कारण यात्रुलाई गन्तव्यमा पुग्न असहज भइरहेका बेला केही सातादेखि विमानस्थलमा उडान नहुँदा झनै सास्ती भएको छ ।

विमान नउड्ने भएपछि यात्रुहरु लामो र जोखिमपूर्ण यात्रा भए पनि सडक मार्ग हुँदै राजधानी काठमाडौँ आवतजावत गर्ने गरेका छन् ।

विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् । आन्तरिकतर्फ हेलिकप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत) १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement