नर्सहरुसँग सरकारको कुरा मिल्यो, आन्दोलन स्थगित

Advertisement

काठमाडौं: पेशागत सुरक्षा तथा ११ बुँदे माग राखेर देशव्यापी आन्दोलनमा उत्रिएका नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ।

बिहीबार राति सहमति पत्रमा हस्ताक्षर गरेपनि नर्सिङ संघले एक महिना भित्र कार्यान्वयन गर्न अल्टिमेटम दिंदै जारी आन्दोलनलाई स्थगित गरेको छ।

नौ दिनदेखि संघका पदाधिकारी आन्दोलित थिए। संघले अघि सारेका सबै मागहरु कार्यान्वयनका लागि शीघ्र पहल गरिने स्वास्थ्य मन्त्रालयद्वारा गठित उच्चस्तरीय वार्ता टोलीका संयोजक डा. विनोद मान श्रेष्ठले जानकारी दिए।

सहमति भएका सबै बुँदाबारे मन्त्रालयकी सचिव डा.पुष्पा चौधरीलाई जानकारी गराएर कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले एक महिनाका लागि आन्दोलन स्थगित गरिएको बताइन। उनले भनिन, ‘मागहरु कार्यान्वयन गर्न सहमति भएको छ। तर एक महिना भित्र कार्यान्वयन नभए फेरि आन्दोलन गर्न बाध्य हुन्छौं।’

११ बुँदे सहमतिपत्रमा मन्त्रालयको वार्ता टोलीका संयोजक डा. श्रेष्ठ र नर्सिङ संघको वार्ता टोलीको तर्फबाट कार्यवाहक अध्यक्ष थापाले हस्ताक्षर गरेका छन्।

Advertisement

Advertisement

Advertisement