मन्त्री नै भन्छन– यस्तै हो भने पछि दुईतिहाईले पनि प्रदेशको राजधानी तोक्न सक्दैन

Advertisement

काठमाडौंः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने गरी आफूहरुले राजिनामा दिने तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबमा थापाले भने, ‘हामी फागुण ७ गतेभित्रै नयाँ सरकार गठनको लागि वातावरण बनाउँछौं, वाम गठबन्धनले फागुण ७ गते नै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुहुन्छ, हामी प्रतिपक्षमा बस्छौं ।’

उनले आफूहरुलाई सत्तालिप्सा देखाएको भनेर सार्वजनिक रुपमा आरोप लगाउँदै आएकोले जतिसक्दो चाँडो सरकार छोड्न आतुर रहेको र सोही अनुसार तयारी गरिरहेको पनि जानकारी दिए ।

थापाले भने, ‘प्रदेश प्रमुखहरु बस्ने ठाउँ, अधिवेशन गराउने हलको बन्दोबस्दो लगायत आन्तरिक गृहकार्य गरिरहेका छौं, उहाँहरुलाई चाहिने कुनै पनि कुराको कमी हुँदैन्, हुन दिँदैनौं ।’

उनले वामगठबन्धनको बहुमत भएकोले नयाँ सरकार गठनको लागि वातावरण बनाइदिएकोमा धन्यवाद दिनुपर्ने बेलामा सरकार गठनको लागि मार्गप्रशस्त गरेन भनेर आरोप लगाउनु दुःखदायी कुरा भएको समेत बताए ।

थापाले सरकारले हालै तोकेको प्रदेश कार्यसञ्चालन स्थानलाई प्रदेशको अस्थायी राजधानी भनेर भन्न नमिल्ने उनको भनाई थियो । उनले भने, ‘यहाँ कुरा बुझिएन्, आफ्नो पायक पर्ने ठाउँमा राजधानी हुनुपर्छ भनेर भन्नु स्वभाविक हो, अस्थायी राजधानी तोक्ने हामी को हौैं ? राजधानी तोक्ने अधिकार छैन्, राजधानी वा मुकाम होइन, यो त प्रदेशसभा सञ्चालन गर्नको लागि स्थान तोकिने हो, संविधानको धारा २८८ को २ अनुसार प्रदेशसभाका दुई तिहाई सदस्यहरुले राजधानी तोक्ने हो ।’

उनले अहिले नबुझीकन अस्थायी राजधानीको नाममा आन्दोलन मत्थर भएन भने दुई तिहाइले पनि तोक्न सक्ने अवस्था नआउन सक्नेतर्फ चिन्ता व्यक्त गरे । थापाले भने, ‘आन्दोलन चर्कदै गयो भने कट्टरतामा परिणत हुन्छ ।’ उनले अहिले तोकिएको प्रदेशसभा सञ्चालन स्थान परिवर्तन नहुने पनि जिकिर गरे ।

Advertisement

Advertisement

Advertisement