डोल्पाली भन्छन् - घरदैलोमा सिंहदरबार पुग्दा पनि सास्ती उस्तै

Advertisement

दुनै, डोल्पा: सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन ।

विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी नभेटिने गरेपछि जनताले पहिलेकै जस्तो सास्ती खेप्नुपरेको छ । यतिखेर जिल्लाका आठ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा सचिव र अध्यक्ष कार्यालयमा नभेटिने गरेपछि जनतालाई पञ्जीकरण, सिफारिशलगायत सुविधा लिन समस्या भएको छ ।
दुई नगरपालिका र छ गाउँपालिका गरेर ६५ वटा वडा रहेको डोल्पामा १८ वडा सचिवले सबै वडा धानेका छन्, बाँकी ४७ वटा वडा सचिवविहीन छन् । “एघार वडा रहेको ठूलीभेरी नगरपालिकामा यो समयमा एक जना मात्र वडा सचिव छन्, कोही नभएपछि दिनमा सेवा लिन आउने २० देखि ३० जनाको काम म गरिदिन्छु”, ठूलीभेरी नगरपालिकाका सहजकर्ता दिलु केसी बताउँछिन् ।

शे–फोक्सुन्डो गाउँपालिकाका जनता सात दिन लगाएर नागरिकता र नाबालक परिचयपत्र बनाउन सदरमुकाम दुनै पुग्दा सचिव नभएर काम नभएको शे–फोक्सुन्डो– २ का कुञ्जाङ गुरुङ बताउँछन् । वडा सचिव र अध्यक्ष नभएपछि सिफारिशका लागि दिनभर जिल्ला समन्वय समितिका सहसंयोजकको घरमा बसेर सिफारिश ल्याएको छिरिक फुँञ्जो गुरुङ दुखेसो पोख्छन् । जनप्रतिनिधि र कर्मचारी नभेटिँदा उनीहरुको घरघर धाउँदै हप्ताँै दिन बितेको उनले बताए ।

डोल्पामा छ वडा सचिव जिल्लाका विभिन्न स्थानीय तहको निमित्त कार्यकारिणी अधिकृतको जिम्मेवारी लिएर काम गरिरहेका छन् । गाउँगाउँमा सिंहदरबार पुगे पनि उपल्लो डोल्पावासीलाई सचिव र अध्यक्ष खोज्दै हप्तौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको उपल्लो डोल्पावासीको गुनासो छ ।

वडाध्यक्षलाई सिफारिश गराउन जाँदा पनि दिनभर हिँड्नुपर्ने समस्या कायमै रहेको उपल्लो डोल्पालीले बताएका छन् । “ वडाका अध्यक्षबाट हुने काम सबै काम सदरमुकाम दुनै पुगेर समन्वयका कर्मचारीबाट गराउनुपर्ने बाध्यता छ, कहाँबाट भयो घरघरमा सिंहदरबार ?” छार्काकी कुङापुटी लामाले प्रश्न गरे , “नौ महिना अगाडि जस्तो थियो अहिले पनि उस्तै छ डोल्पाली जनताको काम छोडेर काठमाडाँै बस्ने जनप्रतिनिधिलाई भोट दिएर बेकार भयो । ”

डोल्पाका स्थानीय तहका प्रमुख उपप्रमुख, वडाध्यक्ष कर्मचारी सबैले राजधानी केन्द्रित भएर जनताको काम ठप्प गराएको उनी भन्छन् । हिउँदका समयमा जनप्रतिनिधि र कर्मचारी जनताको काम छाडेर तराईतिर झरेपछि जनतालाई सास्ती भएको नागरिक अगुवा सुरेन्द्र ढकालले बताउनुभयो । जनताको काम अघिल्लो संरचनाभन्दा पनि जनप्रतिनिधि आइसकेपछि झनै ओझेलमा परेको उनको भनाइ छ । कर्मचारी र जनप्रतिनिधिको जाडो छल्न जाने प्रवृत्तिबाट डोल्पालीको सेवा प्रवाह रोकिएको ढकाल बताउँछन् ।

स्थानीय सरकार गठन भएको नौ महिना बितिसक्दा समेत जनताले स्थानीय सरकारको अनुभूति गर्न नपाएको नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष तथा युवा बबीकिशोर गुरुङले बताए । “जिल्लाका ४७ वडा अझै सचिवविहीन छन्, भएका सचिव पनि विभिन्न बहानामा जिल्ला बाहिर गएका छन्, आजभोलि जनताको दैनिक काम प्रभावित भएको छ”, त्रिपुरासुन्दरी नगरपालिकाका बासिन्दाले सुमन थापाले भएन ।

Advertisement

Advertisement

Advertisement