यो साता सेयर बजार निराशाजनक, संगठित गिरोह नै चलखेलमा रहेको पुष्टि हुँदै

Advertisement

काठमाडौंः सेयर बजार यो साता निराशाजनक रह्यो । अघिल्लो साता एक हजार ४४० अंक पार गरेको नेप्से परिसुचक झरेर एक हजार ४०६ अंक कायम भएको छ भने कारोबार रकम घट्ने क्रम जारी रहेको छ ।

यो साता झण्डै ३६ प्रतिशतले कारोबार घटेर एक अर्ब नौ करोड रुपियाँमा सीमित भएको छ । यद्यपि यो साता तीन दिन मात्रै बजार खुला रहेको थियो । नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीको १२ हजार ७२८ कारोबार हुँदा २४ लाख ६१ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यो साता कुनै पनि समूहको उपसुचक माथि उक्लिन सकेन । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.३४ अंकले घटेर २९६ दशमलव ८६ अंकमा आइपुगेको छ । कारोबार रकम (१९ करोड आठ लाख १० हजार रुपियाँ)का आधारमा सानिमा माई हाइड्रोपावर यो साता सबैभन्दा अगाडि रह्यो ।

त्यस्तै, कारोबार भएको सेयर संख्या (चार लाख ४७ हजार कित्ता) र कारोबार संख्या (एक हजार १८४ वटा) का आधारमा पनि सानिमा माई नै अग्रस्थानमा रह्यो । निर्वाचनहरु सफलतापूर्वक सम्पन्न भएको, निर्वाचनकै क्रममा सरकारी खर्च वृद्धिका साथै आर्थिक गतिविधि वृद्धि भएको, मुलुकमा राजनीतिक स्थिरता कायम भई आर्थिक विकासले गति लिने आशा बढेको बेलामा सेयर बजारमा लगातार गिरावट आउनुलाई धेरैले अस्वाभाविक मान्दै आएका छन् ।

विश्लेषकहरुले नेपालमा सेयर बजारमा कृतिम ढंगको उतार चढाव सिर्जना गरी निहीत स्वार्थ पूर्ति गर्ने र साधारण लगानीकर्ताहरुलाई शोषण गर्ने कार्यमा लागेको संगठित गिरोह सक्रिय रहेको सेयर बजारमा पछिल्लो समयमा देखिएको प्रवृत्तिले पुष्टि गर्ने बताउँदै आएका छन् ।

यस कार्यमा सेयर बजारमा चलखेल गरेर नाफा गर्न सिपालु र बल्कमा सेयर खरिद बिक्री गर्ने समूहले नियामक निकायकै मानिसहरुलाई हात लिएर कम्पनीहरुको आफै सेयर घटबढ गराउने, बजारमा गलत सुचनाहरु प्रवाह गरी साधारण लगानीकर्ताहरुलाई भ्रमित गर्ने काम गर्ने गरेको छ । यस कार्यमा मारवाडी समुदायकै केही व्यक्तिदेखि नियामक निकायकैै अधिकारी, स्टक ब्रोकर, कम्पनीका सञ्चालकहरुसमेत रहेका छन् ।

पछिल्लो समयमा राजनीतिक कारणदेखि मूल्य अभिवृद्धि कर जस्ता कुराहरुलाई देखाएर लगानीकर्ताहरु त्रसित बनाउने, सेयर बजारमा लगानी गर्ने गरेको रकम केहीले बाहिर पठाउने र केहीले प्रादेशिक राजधानीहरुमा जग्गामा लगानी गर्ने काम गर्न थालेको स्रोतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement