‘क्यान इन्फोटेक’ मेला माघ ११ गतेबाट, दुई सय २२ स्टल रहने

Advertisement

काठमाडौं: आगामी माघ ११ गते (बिहीवार)देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला हुने भएको छ । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)ले आइतवार पत्रकार सम्मेलन गरी क्यान इन्फोटेक मेला माघ १६ गते मङ्गलवारसम्म हुने जानकारी दिएको थियो ।

२४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’मा हलभित्र ४९ ओटा ठूला र हल बाहिर पाँचओटा ब्राण्डिङ प्रदर्शनी कक्ष हुनेछन् । त्यस्तै, ट्रसमा १ सय ४४, ओपन स्पेसमा १४ र फूड स्टल १० गरी २ सय २२ स्टल रहनेछन् ।

मेलामा हार्डवेयर सेल्स तथा मेण्टेनेन्स, पावर सोलुशन्स, मोबाइल एसेसोरिज, डिलर÷डिष्ट्रिब्युटर्स, इण्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्स, सफ्टवेयर सोलुशन्स, पेमेण्ट सोलुशन्सजस्ता सेवाप्रदायकका स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय र विद्यार्थीलाई ५० रुपैयाँ निर्धारण गरिएकोे छ । क्यानले २०७४ माघ १४ गते ‘बिजनेश डे’को रूपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ तोकिएको छ । अवलोकनका लागि सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोध गरेमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यस वर्षको मेलामा क्यान महासङ्घका सदस्य संस्थासहित विभिन्न राष्ट्रिय÷अन्तरराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहनेछ । मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने मौका पाउने आयोजकले बताएको छ । साथै, अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन र खरीद गर्न पाउनेछन् ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’मा अनलाइन टिकटको व्यवस्था मिलाइएको छ । साथै, सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्देश्यले अनलाइन टिकट खरीदमा २० प्रतिशत छूट प्रदान गरिने बताइएको छ । विश्वमा सूचना तथा प्रविधिको क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले क्यानले हरेक वर्ष इन्फोटेक मेला आयोजना गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement