कृषि विकास बैंकको कर्जा प्रवाह आठ खर्ब ६९ अर्ब, मुनाफा दुई अर्व ५७ करोड

Advertisement

काठमाडौं: कृषि विकास बैङ्क लिमिटेडले आव २०७३/७४ मा दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैङ्कले आइतवार स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको कर्जा ११ दशमलव २६ प्रतिशत, साँवा असुली १३ दशमलव ४२ प्रतिशत, ब्याज असुली १७ दशमलव ६६ प्रतिशत तथा निक्षेप सङ्कलनमा १३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३/७४ को माघ मसान्तसम्ममा निक्षेप रकम रू. ९९ अर्ब ९३ करोड रहेको बैङ्कले बताएको छ ।

बैङ्कका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैङ्कले स्थापनाकालदेखि हालसम्म कूल रू. आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैङ्कको अहिलेसम्मको कर्जा असुली रू. सात खर्ब ७० अर्ब रहेको छ । हाल बैङ्कको करीब एक लाख ५१ हजार कर्जा ग्राहकमा रू. ९५ अर्ब २० करोड कर्जा लगानी छ ।

साथै, चालू आव २०७४/७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरुप बैङ्कले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करीब रू. एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप सङ्कलनमा १४ प्रतिशत वृद्धि गरी रू. एक खर्ब १३ अर्ब ८६ करोड पुर्‍याउने भएको छ । सोही योजनाअनुसार बैङ्कका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैङ्कको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैङ्किङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताए ।

उनले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बैङ्कले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिए ।

अर्थमन्त्री कार्कीले कृषि बैङ्कको सङ्घीय शासन प्रणालीअनुरुप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पु¥याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैङ्कले आफ्नो सेवालाई बढीभन्दा बढी ग्रामीण जनतासामु पुर्‍याउन पूँजी वृद्धि गर्नुपर्ने सुझाव दिए ।

बैङ्क सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैङ्क भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैङ्किङ सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

बैङ्कको अहिले देशभर २ सय ५३ ओटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल दुई हजार ८ सय २५ कर्मचारी रहेको यस बैङ्कका दुई लाखभन्दा बढी शेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैङ्कमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement