एउटै प्रकृतिको संगठन बनाएकोमा उद्योग वाणिज्य महासंघको चेम्बरलाई यस्तो चेतवानी, स्पष्टीकरण माग

Advertisement

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघले नेपाल चेम्बर अफ कमर्शसँग स्पष्टीकरण मागेको छ। चेम्बरले आफ्नो संरचना महासंघजस्तै रुपान्तरण गरेर समानान्तर सांगठनिक संरचना बनाएपछि दुई निजी क्षेत्रका संस्थाबीच मतभेद बढेको छ ।

महासंघले पत्र लेखेर चेम्बरसँग स्पष्टीकरण सोधेको हो। चेम्बर महासंघको संस्थागत सदस्य हो। "संस्थागत सदस्य भएका आधारमा हामीले महासंघमा किन रुपान्तरण भएको हो भनेर स्पष्टीकरण सोधेका छौँ" महासंघकी अध्यक्ष भवानी राणाले भनिन्।

चेम्बरले चित्तबुझ्दो जवाफ नदिए सदस्यता खारेज गर्ने योजना महासंघको छ।

महासंघले राष्ट्रिय निर्देशन बोर्ड ऐन २०१८ अनुसार, एउटै प्रकृतिको व्यवसायिक संगठन देशव्यापी भनेर स्वीकार गरेपछि त्यस्तै प्रकृतिको संगठन स्वीकृत नगर्ने प्रावधान विपरित किन रुपान्तरण गरेको भन्दै चेम्बरलार्इ स्पष्टीकरण सोधेको हो।

ऐनको दफा ३ को उपदफा (६) मा, कुनै खास वर्गीय तथा व्यवसायिक संगठन नेपाल सरकारले आफैंले खडा गर्न गराउन खोजेको रहेछ वा कुनै खास वर्गीय तथा व्यवसायिक संगठन देशव्यापी हो भनी नेपाल सरकारले स्वीकार गरिसकेको रहेछ भने, एउटै वर्ग वा व्यवसायको एकभन्दा बढी त्यस्तो संगठनहरु खडा गर्न नेपाल सरकारले स्वीकृती दिने छैन भन्ने उल्लेख छ। महासंघ ऐनको यही बुँदामा टेकेर अदालत जाने मनस्थितीमा छ।

‘चेम्बर महासंघमा जाने निर्णय नसच्चाएमा एफएनसीसीआर्इ अदालतसमेत जान्छ’ महासंघका एक पदाधिकारीले भने, व्यवसायिक संगठनलार्इ कमजोर पार्ने काम भएकोले यसको विरुद्धमा अदालत जाने निष्कर्षमा हामी पुगेका छौं।‘

पुस ११ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत चेम्बर महासंघमा रुपान्तरण भएको थियो। चेम्बरको ६७औं वार्षिक साधारणसभामार्फत एफएनसीसीआर्इजस्तै सांगठनिक संरचना खडा गरेको थियो। चेम्बरले एफएनसीसीआर्इजस्तै बरिष्ठ, जिल्ला, वस्तुगत, उद्योग, वाणिज्य, द्धिराष्ट्रिय र मानार्थ उपाध्यक्ष पद राखेको छ।

Advertisement

Advertisement

Advertisement