मुलुककै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना, दैनिक हजार सिलिन्डर उत्पादन गर्ने

Advertisement

नेपालगन्ज: बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ ।

नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको छ । दैनिक एक हजार २०० लिटर लिक्विड नाइट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट ‘जिरो एयर’ ग्यास पनि उत्पादन हुने सञ्चालक गौरव श्रेष्ठले बताए ।

एच ओ अक्सिजन इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको प्लान्टले आजदेखि विधिवत् उत्पादन शुरु गरेको छ । करिब रु १० करोडको लागतमा स्थापना गरिएको सो प्लान्ट सञ्चालनमा आएपछि नारायणघाटदेखि पश्चिमी क्षेत्रमा सहज र सुलभ ढंगले अक्सिजन तथा नाइट्रोजन ग्यास र लिक्विड उपलब्ध हुने बताइएको छ ।

बिरामीको संख्यामा वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पताल र व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौँ बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाइट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको सञ्चालक श्रेष्ठले बताए ।

हरि ओम ग्रुपको लगानी रहेको एच ओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमा सबैभन्दा धेरै उत्पादन क्षमता भएको अक्सिजन ग्यास प्लान्ट हो ।

Advertisement

Advertisement

Advertisement