मोदीको चाहना ओली नै प्रधानमन्त्रीः भट्टराई, 'ओली-मोदी सम्वन्ध अहिले सुमधुर'

Advertisement

काठमाडौंः एमाले नेता एवं नेपाल–भारत प्रवुद्ध समूह (इपिजी)का एक सदस्य डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध अब २१ औं शताब्दी अनुसार नयाँ उचाईमा पुग्ने तर्क प्रस्तुत गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा भट्टराईले द्धिपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेगरि भारतसँग छलफल भइरहेको बताए । उनले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकुल नै अघि बढ्ने भएकोले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरुसँग पारस्परिक सम्बन्ध राखिने जनाए ।

भट्टराईले भने, ‘हाम्रो दुवै छिमेकी मित्रराष्ट्रहरुसँग गहिरो र फराकिलो सम्बन्ध छ, कसैसँग हामीले वैरभाव राख्नुहुँदैन्, र राख्न आवश्यक पनि छैन् ।’ उनले आजको युग भनेको द्धिपक्षीय र बुहपक्षीय सम्बन्धलाई ध्यानमा राखेर अघि बढ्ने युग भएकोले यसबारे विभिन्न अभ्यासहरु भइरहेको जानकारी दिँदै भने, ‘संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्धान्तमा छिमेकीहरुसँग पारस्परिक लाभका आधारमा, हाम्रो राष्ट्रको हितमा, समानताका आधारमा र अहस्तक्षेपका आधारमा सम्बन्ध विकसित गरेर अघि बढ्ने हो ।’

भट्टराईले थपे, ‘नेपाल–भारत सम्बन्ध सबै हिसाबले सुमधुर छ, र यो निरन्तरता पनि हो, आगामी दिनमा अझै फराकिलो र गहिरो बनाएर जानुपर्छ, अहिले त्यो दिशामा हामी अघि बढिरहेका छौं ।’ उनले नेपालको विदेश नीति कुनै छिमेकी देशको विपक्षमा नहुने समेत स्पष्ट पारे ।

आफ्नो पार्टीका अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच निर्वाचन सम्पन्न भएयता दुईपटक टेलिफोनवार्ता भएको बताउँदै भट्टराईले भने, ‘निर्वाचन सम्पन्न भइसकेपछि उहाँहरुको बीचमा दोस्रोपटक टेलिफोनमा सम्वाद भएको छ । हालै भारतीय प्रधानमन्त्री मोदीले नै उताबाट फोन गर्नुभएको थियो । फोनमा मोदीले नयाँ वर्ष २०१८ लागेकोमा शुभकामना आदान प्रदान, ओलीको स्वास्थ्य स्थितिबारे जानकारी राख्नुभयो । त्यसपछि उहाँले फेरि तपाईलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेका छौं भन्नुभयो । र, त्यही प्रधानमन्त्री नवनियुक्त भइसकेपछि भारत भ्रमणको पूनः निमन्त्रणा दोहोर्याउनुभएको छ । त्योसँगै भोलिका दिनमा सहकार्य गरेर अगाडि जाने कुरा बताउनुभयो ।’

यता एमाले अध्यक्ष ओलीले पनि नयाँ वर्षको उपलक्ष्यामा मोदीलाई शुभकामना दिएको उनले जानकारी दिए । मोदी–ओलीबीचको सम्वादबारे प्रकाश पार्दै भट्टराईले भने, ‘हाम्रो अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य स्थितिको कुरा बताइदिनुभयो । त्यसपछाडि भारत भ्रमणमा आउने कुरालाई स्विकार्दै उहाँले पनि मोदीजीलाई नेपाल भ्रमणको लागि निमन्त्रणा दिनुभयो । र, पहिला मोदीजीको पोष्टपोन भएका दुई वटा भ्रमणहरु–एउटा जानकी मन्दिरको भ्रमण र अर्को मुक्तिनाथ जाने) उहाँको पूरानो ईच्छा, यी दुईवटा भ्रमणको व्यवस्था गरेर नेपाल भ्रमण आउनको लागि ओलीले पनि निमन्त्रणा दिनुभयो ।’

उनले राजनीतिक तहमा सबैभन्दा उच्च तहमा रहेका, निर्णायक ठाउँमा रहेका नेताहरुकाबीचमा दुईवटा मुलुकको सम्बाद हुने कुराले सम्बन्ध सुमधुर बनाएर, अगाडि लिएर जाने कुरामा नै सहयोग पुर्याएको विश्वास व्यक्त गरे

भट्टराईले मोदी र ओलीबीचको पछिल्लो सम्वादसँगै नेपाल र भारतका बीचमा यो अगाडि जे–जस्ता अवस्था थियो, अब त्यो भने नरहेको स्पष्ट पारे । उनले भने, ‘अब हामी एउटा समझदारी बनाएर दुईवटा मुलुकले सम्बन्धलाई राम्रो बनाएर जानुपर्छ, त्यो सम्बन्धलाई राम्रो बनाएर जाँदा नै दुवै मुलुकको हित छ । र, दुवै मुलुकका चासोहरुलाई सम्बोधन हुन्छ भन्ने कुरातर्फ अघि बढिरहेका छौं ।’

Advertisement

Advertisement

Advertisement