फागुन अन्तिम हप्ताबाट अन्तर्राष्ट्रिय व्यापार मेला, तीनसय बढि स्टलहरु रहने

Advertisement

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष आउँदो फागुन २४ देखि २८ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । मेलाका लागि मंगलबारबाट स्टल बुकिङ खुला समेत गरिएको छ ।

वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । अन्तर्राष्ट्रिय व्यापार मेलाको यो सातौं संस्करण हो ।

कूल तीनसय भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपालसहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेसिया लगायतका देशहरूको सहभागिता रहनेछ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तास“ग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको महासंघले जनाएको छ ।
मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूस“ग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल समेत हुनेछ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं बस्तुगत गरी करिव ३० देखि ४० वटा मेलाहरु विभिन्न भागमा आयोजना हुदै आईरहेका छन् । केहि मेला सम्पन्न भइसकेका छन् भने केही तयारी भइरहेको जनाइएको छ ।

महासंघले सम्पन्न गरेको अघिल्लो वर्षको अन्तर्राष्ट्रिय व्यापार मेलाको एक लाखभन्दा बढी स्वदेशी एवं विदेशीले अवलोकन गरेका थिए भने स्वदेशी विदेशी गरी ३४० एक्जिविटर्सहरूबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो ।

मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान, इजरायल, जर्मनी, इयू, अमेरिका लगायतका देशबाट खरिदकर्ताहरू आएका थिए भने चीन, भारत, पाकिस्तान, वंगलादेश र दक्षिण कोरिया लगायतका देशबाट व्यवसायिक प्रतिनिधिमण्डलले मेलाको अवलोकन गरेका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता थियो ।

राष्ट्रिय अन्तर्राष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पु¥याउने आशा एवं विश्वास लिइएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement