विश्वकप फुटबलका लागि फिफा ट्रफीको विश्व यात्रा सुरु

Advertisement

कोलम्बोः यसै बर्ष (सन् २०१८) रुसमा हुने फिफा विश्वकप फुटबलको लागि फिफा ट्रफीको अन्तर्राष्ट्रिय भ्रमण औपचारिक रुपमा सुरु भएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगेले अनावरण गरेसँगै बुधबार कोलम्बोबाट यसको भ्रमण सुरु भएको हो ।

यस बर्ष ट्रफीले ५१ देशको भ्रमण गरी रुस पुग्नेछ । यस बर्षको खेल आउँदो जुनबाट मस्कोमा हुँदैछ । फुटबल खेलको लोकप्रियता र महत्व बढाउन हरेक विश्वकप फुटबल अघि फिफा ट्रफीको विश्व भ्रमण गराउने गरिन्छ ।

गएको सेप्टेम्बर मस्कोबाट सुरु भएर रुसका १५ सहरको भ्रमण गरिसकेको ट्रफीलाई कोलम्बोबाट अन्तर्राष्ट्रिय भ्रमणमा आजबाट औपचारिकरुपमा लगिएको हो । खेलका आयोजक एवं प्रयोजक फिफा र कोकाकोलाले फिफा ट्रफीको विश्व भ्रमणका लागि कोलम्बोलाई रोजेका हुन ।

अब ट्रफीलाई अन्टारटिकाबाहेकका छ महादेशका ५१ देश हुँदै आउँदो जुनमा मस्को पुर्याइने छ। फ्रान्स १९९८ का विजेता मिडफिल्डर क्रिस्टियन कोरम्बोले ट्रफीको कोलम्बो भ्रमण सुरु गरिसकेका छन् । विश्वकपको उपाधि विजेता खेलाडीले मात्र ट्रफी बोक्न वा छुन पाउने फिफाको नियम छ।

यात्रा क्रममा विजेता खेलाडीबाहेक सम्बन्धित देशका राष्ट्र प्रमूखले ट्रफी बोक्न पाउने छन् । तर, श्रीलंकाका राष्ट्रपति उपस्थित हुन नसकेपछि प्रधानमन्त्रीले यसको अनावरण गर्ने अवसर पाएका हुन ।

अब ट्रफीले ५१ देश घुम्ने क्रममा एक लाख २६ हजार किलोमिटरभन्दा बढि दुरी पार गर्नेछ । अघिल्ला विश्वकपहरुमा ट्रफीले नेपालको समेत भ्रमण गरे पनि यस पटक भने नेपाल रुटमा परेको छैन ।

Advertisement

Advertisement

Advertisement