सबै स्थानीय तहमा सञ्जाल विस्तार गर्ने तयारीमा राष्ट्रिय बाणिज्य बैंक, नाफामा उत्साहजनक वृद्धि

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउने तयारी गरेको छ । बैंकको ५३औँ वार्षिकोत्सवमा बुधबार आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ र पुनस्थापित गरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो ।

बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा रहेको र जनशक्ति आपूर्ति हुनासाथ ती शाखा तुरुन्त सञ्चालनमा आउने जनाएको छ । राज्यको पुनःसंरचनापछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ७५३ वटै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन सबै वाणिज्य बैंकहरुलाई निर्देशन र जिम्मेवारी दिइसकेको छ ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक नयाँ संविधानअनुसार संघीय संरचनामा गइसकेकाले संघीय संरचनाअनुसार बैंकहरु रुपान्तरण भई सेवा विस्तार गर्नुपर्ने बताए ।

वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले सरकारका आर्थिक विकासका क्रियाकलापमा सहयोग पु¥याउनु यसको कर्तव्य भएको धारणा व्यक्त गर्दै उनले बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । कार्कीले भने, “मुलुकको दिगो आर्थिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ ।”

कार्कीले स्थापनाकालदेखि नै वाणिज्य बैंकले ग्रामीणदेखि सहरी क्षेत्रसम्म बैंकिङ सेवा प्रवाह गरी जनताको विश्वास जितेको भन्दै अब अझ प्रतिष्पर्धी हुनु आवश्यक रहेको बताए ।

विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ६९ जिल्लामा १८० शाखा कार्यालय, १३० एटिएम, १७ स्थानमा एक्टेन्सन काउन्टर, ९२ स्थानमा शाखारहित बैंकिङ शाखामार्फत सेवा प्रवाह गरिरहेको छ ।

बैंकले विसं २०७५ असारसम्म थप ४५ शाखा कार्यालय, ७० एटिएम र २० स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

समारोहमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र वाणिज्य बैंकहरुका शाखा रहेको बताउँदै सरकारले जनतालाई दिने सेवा सहजतका लागि पनि सबै नेपालीको बैंक खाता हुनुपर्ने बताए ।

मुलुकभर हाल १४९ बैंक तथा वित्तिय संस्थाका पाँच हजार २६७ शाखा रहेको बताउँदै उनले बैंक तथा वित्तिय सुधारका लागि हालसम्म १५८ बैंक तथा वित्तिय संस्थालाई ४० संख्यामा मर्जर गरिएको जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दुई हजार १६५ कर्मचारीबाट ग्राहकको चाहनाबमोजिम वित्तिय सेवा प्रदान गर्न प्रयत्न गरिरहेको यस बैंकले अपेक्षा गरेअनुसार ग्राहको विश्वास आर्जन गरिरहेको बताए ।

विसं २०७४ पुस मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ४९ अर्ब र कूल कर्जा रु एक खर्ब १० अर्ब पुगेको जानकारी गराउँदै उनले यो वर्ष मात्र बैंकभित्र करिब ५०० नयाँ कर्मचारी भित्र्याइएको र ५७१ कर्मचारी विज्ञापन भई भर्ना प्रक्रियामा रहेको बताए ।

बैंकका ३० लाखभन्दा बढी ग्राहक छन् । बैंकले विसं २०७४ पुससम्म रु दुई अर्ब ७४ करोड अनुदानसहितको कृषि कर्जा र १७ करोड भूकम्पपीडित कर्जा प्रदान गरिसकेको छ ।

एनआइडिसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा मर्जरको प्रक्रियाअन्तर्गत यही माघ २० गते विशेष साधारणसभा आह्वान गरिएको र चैतबाट एकीकृत कारोबार गर्ने लक्ष्य रहेको छ ।

कार्यक्रममा सर्वोत्कृष्ट कर्मचारी पुरस्कारबाट नरेशराज अर्याल र सर्वोत्कृष्ट बैंक शाखाका रुपमा दाङको नारायणपुर शाखालाई पुरस्कृत गरिएको थियो ।

समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा रवीन्द्रप्रसाद पाण्डे, राबाबैं कर्मचारी संघका अध्यक्ष गगनसिंह घिमिरे, राबाबैंक कर्मचारी संगठनका अध्यक्ष पुरुषोत्तम निरौलालगायतले बैंकका गतिविधिबारे प्रकाश पार्दै भावी योजनाका बारेमा जानकारी गराए ।

बैैंक यही गएको पुससम्म खुद मुनाफा करिव एक अर्व ७५ करोड रुपियाँ आर्जन गरेको छ । यो नाफा गत बर्ष पुससम्म एक अर्ब ३० करोड रुपियाँ मात्रै थियो । खराब कर्जाको अनुपात तीन प्रतिशतभन्दा तल राख्न सफल भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

Advertisement

Advertisement

Advertisement