कुइनेखानीमा लघुजलविद्युत् आयोजना निर्माण, टुकी युगको समाप्त

Advertisement

बाबियाचौरः म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा पर्ने कुइनेखानीमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेखानीका बासिन्दाले २० किलोवाट क्षमताको मजुवा कुइनेखानी लघुजलविद्युत् परियोजना निर्माण गरेर गाउँलाई उज्यालो बनाएका हुन् ।

एक करोड नौ लाख रुपियाँको लागतमा निर्माण भएको परियोजनाबाट साविक कुइनेमंगले गाविसको १, २ र ३ नम्बर वडामा पर्ने ११९ घरधुरी लाभान्वित भएका परियोजनाका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए ।

केन्द्रीय प्रशारण लाइनको विद्युत् सुविधाको सम्भावना नरहेको कुइनेखानीका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । लघुजलविद्युत् परियोजना निर्माण भएपछि बत्ती बाल्न, विद्यार्थीलाई लेखपढ गर्न, घरायसी काम गर्न, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सजिलो भएको छ ।

बिजुलीको प्रयोग गरेर कुटानीपिसानी मिलसमेत सञ्चालन भएको वडासदस्य खबहादुर छन्त्यालले बताए । विसं २०७० मा निर्माण शुरु भएको आयोजना चार वर्षमा यसै महिनाको पहिलो साता सम्पन्न भएको हो ।

परियोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको क्षेत्रीय सहयोग एकाइ धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी), बागलुङले ३९ लाख रुपियाँ र तत्कालीन कुइनेमंगले गाविसले १० लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो ।

उपभोक्ताले प्रतिपरिवार १३० दिनका दरले श्रमदान र दुई हजार ५०० रुपियाँका दरले नगद संकलन गरेका थिए । उपभोक्ताको ६० लाख रुपियाँ बराबरको लगानी भएको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement