संविधान संशोधन गर्न ओली तयार भए सरकारमा जान हामी तयारः उपेन्द्र यादव

Advertisement

काठमाडौंः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि एमाले अध्यक्ष केपी ओली तथा वामगठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

उनले माओवादी र काँग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार भएको दावी गर्दै अब एमालेले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । यादवले भने, “बल एमालेको कोर्टमा छ, एमालेभित्र पनि अध्यक्ष केपी ओलीजीको कोर्टमा बल छ, कस्तो गोल हान्नुहुन्छ त्यो भने हेर्न बाँकी छ । हामी सरकारसँग सहकार्य गर्न तयार छौँ ।”

उनले थपे, “एमालेको स्पष्ट धारणा के हो ? त्यो धारणासँग हाम्रो धारणा मेल खान्छ कि खाँदैन ? हिजोका दिनमा एमालेले संविधान संशोधनको विरोध गर्यो भन्दैमा अहिले पनि गर्छ भन्ने छैन ।”

यद्यपी यादवले एमाले–माओवादी नेतृत्वको बामगठबन्धनले सरकार चलाउनकाख लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जानआवश्यक भने नरहेको तर्क गरे । उनले भने, “हाम्रो पार्टीले सरकारमा जाने जनादेश पाएको छैन । तर गठबन्धनले हाम्रो आवश्यकता महशुस गर्यो भने हामी सहभागी हुन तयार छौँ ।”

“उनीहरुको बहुमत छ हामी किन सरकारमा जाने ? बहुमत नभएको भए सहयोगको आवश्यकता पर्न सक्थ्यो ।” – यादवले भने । आफूहरु अहिले पनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुननसक्ने उनको भनाई थियो ।

प्रदेश २ मा भने फोरमको नेतृत्वमा सरकार बन्ने यादवले दाबी गरे । उनले भने, ‘२ नम्बर प्रदेशमा राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन् ।’

Advertisement

Advertisement

Advertisement