सुनसरीमा बन्ने भो सिजी इण्डष्ट्रिज पार्क औद्योगिक ग्राम

Advertisement

इटहरी: उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले मुलुकलाई समृद्ध तुल्याउनका देश र जनतालाई सर्वोपरि केन्द्रमा राखेर उनीहरुको समृद्धिका लागि एक स्थानमा बसेर ठोस नीति एवं योजना बनाउन जरुरी रहेकोमा जोड दिएका छन् ।

चौधरी ग्रुपले सुनसरीको गढी गाउँपालिका–२ औराबनीमा निर्माण गर्न लागिएको सिजी इण्डष्ट्रिज पार्क औद्योगिक ग्रामको आज शिलान्यास गर्दै उनले जनताले चाहेको धेरै विकास निर्माणका काम त प्रजातन्त्र आएपछि भए तर व्यवस्थित र ठोस योजनासहितको विकास नहुँदा देश समृद्ध होइन अधोगतितर्फ बढिरहेको तर्फ चिन्तासमेत व्यक्त गरे ।

उपप्रधानमन्त्री गच्छदारले २७ वर्षअघि काठमाडौँको वीर अस्पतालमा भिभिआइपीको उपचारार्थ राखिएको शय्यामा अहिलेसम्म एक जना शीर्ष नेता उपचारार्थ भर्ना नभएको भन्ने समाचार आउनु दुःखद भएको टिप्पणी गर्दै उनले ठूला नेताहरु बिरामी पर्नासाथ बेलायत, अमेरिका अष्ट्रेलिया र भारततिर जाने प्रवृत्ति विकास हुनुले देश झनै दुःखद दिशातिर ओर्लन बाध्य भई रहेको तर्फ अब कसैले आँखा चिम्लन नहुने पनि स्मरण गराएका छन् ।

उनले अब विश्वमा नेपालको आर्थिक सामाजिक औद्योगिक पर्यटन र कृषि उत्पादनलाई उद्योगका रुपमा व्यवस्थित विकास नगर्ने आयातमा निर्भर बन्ने हो भने देश झनै कङ्गाल बन्दै जाने अवस्थातिर झर्ने भएकाले यो औद्योगिक ग्राम जस्तै नयाँ अवधारणासहित देशलाई समुन्नतिको मार्गमा अघि बढाउन सबैको ध्यान एकत्रित गर्नेतिर लाग्न जरुरी रहेकामा पनि जोड दिएका छन् ।

सोही अवसरमा अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले देश सङ्घीयतामा गइसकेको र नेपालको सात प्रदेशमध्ये १ नं प्रदेश समुन्नत बनाउन प्रचूर मात्रामा सम्भावना रहेकाले त्यसको सदुपयोग गर्दैै प्रदेशलाई समृद्ध बनाउने योजनासहित अघि बढ्न सबैले साझेदारीका हात अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक स्वार्थरहित दृष्टिकोण बोकेर देशलाई समृद्ध बनाउन निःस्वार्थ राजनीतिक उद्देश्यसहित काम गर्न नसकिए देशभित्र आवश्यक रोजगारी सिर्जना हुन नसक्ने र युवा जनशक्ति विदेश पलायन भएर जाँदा देश गम्भीर सङ्कटमा फस्ने भएकाले राजनीतिक स्वार्थभन्दा देश र जनतालाई शीरमा राखेर अब काम गर्नुपर्दछ, भने ।

सो अवसरमा चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले धेरै रोजगारी सिर्जना गर्दै प्रदेश नं १ का नागरिकलाई अवाश्यक पर्ने औद्योगिक उत्पादन आपूर्ति गर्दै १ नं प्रदेशको महत्वपूर्ण औद्योगिक ग्रामका रुपमा विकास गर्न चौधरी ग्रुपले पहिलोचोटी सुनसरीमा औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि बढाएको बताए ।

उनले यहाँ चाउचाउसँगै अन्य उपभोग्य वस्तुको प्रशोधन र उत्पादनका कार्य हुने पनि जानकारी दिए । औद्योगिक ग्रामभित्र नमूना उद्योगसमेत रहने उनको भनाइ थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा विश्वास, पूर्वमन्त्री एवं एमाले सचिव भीमप्रसाद आचार्य चौधरी ग्रुपका व्यवस्थापक निर्देशक निर्माण चौधरीलगायतले धारणा राखेका थिए । उक्त औद्योगिक ग्राम करिब बाइस बिघा क्षेत्रफलमा निर्माण गरिने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement