क्यान इन्फोटेक मेलामा सामसङसहित नाम चलेका मोवाइल ब्राण्डहरु नै छैनन्

Advertisement

काठमाडौंः सुचना प्रविधिको कुम्भ मेलाको रुपमा चिनिएको ‘क्यान इन्फोटेक’मा नाम चलेका ब्राण्डेड मोवाइल ब्राण्ड सहभागी नहुँदा मेला खल्लो भएको छ । सुचना प्रविधिका क्षेत्रमा आएका नयाँ उत्पादनहरुप्रति रुची राख्नेहरुका लागि उत्तम मानिएको क्यान इन्फोटेकमा आफूले चाहेको जस्तो सामन नपाएपछि अवलोकर्ता खिन्न भएका छन् ।

नेपालमा सबैभन्दा बढि बिक्री हुने मोवाइल ब्राण्ड सामसुङको उपस्थिति मेलामा छैन । सामसङबाहेक बजारमा नाम सुनिदै आएका मोवाइल ब्राण्डहरु ओप्पो, नोकिया, जिओनीलगायतको पनि उपस्थिति छैन । नयाँ प्रविधिमा अभिरुची राख्ने विशेषगरी नयाँ पुस्ताहरुलाई आकर्षण जगाउने क्यान इन्फोटेकमा नाम चलेकै मोवाइल ब्राण्डहरु नहुँदा धेरैलाई खल्लो लाग्नुका साथै मेलाको आकर्षणसमेत घटेको छ ।

मेला अवलोकन गर्न आएका दोलखाका युवराज बस्नेतले आफूले चाहेको जस्तो सामग्री मेलामा नपाएको बताए । रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्यनरत उनले क्यान इन्फोटेक सोचे जस्तो र प्रचार गरिएजस्तो नपाएको बताए ।

अहिले मानिसहरुमा सबैभन्दा धेरै आकर्षण मोवाइल र यसका विशेषताहरुमा रहेको देखिन्छ । यस क्षेत्रमा विश्वभर नयाँ नयाँ मोडलका मोवाइल ब्राण्डहरु उत्पादन र बिक्री गर्दै आएका सामसङ, नोकिया, जियोनी, ओप्पो जस्ता ब्रण्डलाई नै समेट्न नसक्नु आयोजकको ठूलो कमजोरीको रुपमा लिइएको छ ।

बस्नेत भन्छन, ‘देशकै ठूलो प्रविधि मेलामा मैले सामसङका मोवाइलहरु, आइप्याडहरु हेर्न पाउँदिन भने यो कसरी सुचना प्रविधि मेला भयो र ?’ क्यान इन्फोटेक मेलामा सस्तोमा मोवाइल किन्न पाइने आशामा बालुवाटारबाट आएकी रिना कार्कीले आफूले खोजेजस्तो मोवाइल मेलामा नपाएको बताइन ।

उनले बाहिर भनिए जस्तो मेलामा आकर्षक छुटको व्यावस्था नभएको बताउँदै तर मोबाइल किन्दा टिसर्ट र पेन ड्राइभ भने दिएको बताइन् । सगरमाथा मल्टिपल कलेजमा अध्यनरत मोहन खतिवडाले मेला जानकारी दिने खालको नभई व्यापारको उद्देश्यले आयोजना गरिएको बताए ।

यस्तो मेला व्यापारसँगसँगै जानकारीमूलक हुनुपर्नेमा त्यस्तो नपाएको भन्दै उनले बिगतका मेलाहरुमा जस्तो नयाँ प्रविधिहरु यस बर्षको मेलामा नभेटिएको बताए ।

आयोजक क्यानका उपाध्यक्ष नवराज कुवरले नेपालमै विकास गरिएका एप्सहरुलाई प्रवद्र्धन गर्ने र विश्वमा आएका नयाँ प्रविधिलाई पनि प्रदर्शन गर्ने काम आफूहरुले गरेको बताए । उनले मेलाको मुख्य उद्देश्य नयाँ प्रविधि सम्बन्धि जानकारी दिनु नै रहेको बताए ।

Advertisement

Advertisement

Advertisement