नौं वाणिज्य बैंकहरुले अझै भेट्न सकेनन् चुक्ता पूँजीको सीमा

Advertisement

काठमाडौं: चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिरहेका वाणिज्य बैंकहरुमा हालसम्ममा १९ वाणिज्य बैंकहरुले मात्रै राष्ट्र बैंकले दिएको ८ अर्वको चुक्ता पूँजी पुर्याएका छन् ।

देशमा अहिले कूल २८ वाणिज्य बैंकहरु रहेका छन् । जसमध्ये अव ९ वटा वाणिज्य बैंकहरुले भने अझै दिइएको सीमा भेट्टाएका छैनन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त समय सीमाको थप समावाधि ६ महिना थपेको थियो । अहिले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

केन्द्रिय बैंकले वाणिज्य बैंकहरुलाई गत असार मसान्तसम्म ८ अर्व चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएको थियो ।

उक्त समावाधिसम्ममा ८ अर्वको चुक्ता पूँजी पुर्याउने बैंकहरुमा ग्लोबल आईएमई, नेपाल बैंक , कृषि विकास बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक थिए ।

चालू आवको पहिलो त्रैमाससम्म थप ९ बैंकले चुक्तापूँजी पुर्‍याएका थिए । दोस्रो त्रैमाससम्म आइपुग्दा तोकिएको चुक्तापूँजी पुर्‍याउने सूचीमा ६ ओटा बैंक थपिएका छन् । यो सँगै ८ अर्ब चुक्तापूँजी पुर्‍याउने वाणिज्य बैंकको सङ्ख्या १९ पुगेको हो ।

पूँजी बढाउन बैंकहरुले बोनस, हकप्रद र मर्जरको बाटो रोजेका छन् ।

सीमा नभेट्टाउने बैंकहरुमा जस्तै कुमारी बैंकले १० बराबर २ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि सेबोनमा पुस २६ गते निवेदन दिएको छ । बोर्डको स्वीकृति पाएसँगै बैंकले एक करोड १९ लाख ३८ हजार ९ सय ९१ दशमलव ६५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । सो हकप्रद सेयर निष्कासनपछि उक्त बैंकको चुक्तापूँजी ७ अर्ब १६ करोड ३३ लाख पुग्नेछ ।

एनसीसी बैंकले पनि पूँजी वृद्धिका लागि २ बराबर १ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयर निष्कासनका लागि सेबोनमा मङ्सिर २० गते निवेदन दिएको छ । सो हकप्रद सेयर निष्कासनपछि बैंकको पूँजी ७ अर्ब १ करोड ८५ लाख पुग्ने छ ।

प्रभु बैंकले पनि १० बराबर ४ अनुपातमा हकप्रद सेयर माघ ७ गते नै निष्कासन गरिसकेको छ । सो हकप्रद बाँडफाँटपछि बैंकको पूँजी ७ अर्ब २१ करोड ६० लाख पुग्नेछ । त्यस्तै, सिद्धार्थ बैंकले पनि पूँजी वृद्धिका लागि १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो बोनसपछि सिद्धार्थको चुक्तापूँजी ८ अर्ब ४ करोड पुग्नेछ ।

मेगा बैंकले पनि पूँजी वृद्धिका लागि ९ दशमलव ४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । सो बोनस सेयर वितरणपछि बैंकको पूँजी ८ अर्ब ७ करोड पुग्नेछ ।

पूँजी नपुर्‍याएका एनएमबी, बैंक अफ काठमाण्डू, सिभिल बैंक र सेञ्चुरी कमर्शियलले भने हालसम्म कुनै योजना सार्वजनिक गरेका छैनन् ।

हाल एनएमबीको ६ अर्ब ४६ करोड, बैंक अफ काठमाण्डूको ६ अर्ब २४ करोड, सिभिल बैंकको ५ अर्ब १८ करोड र सेञ्चुरी कमर्शियल बैङ्कको ७ अर्ब ६७ करोड चुक्तापूँजी रहेको छ ।

राष्ट्र बैङ्कले तोकेको समयावधिमा वाणिज्य बैङ्कहरूलाई चुक्तापूँजी पुर्‍याउन गाह्रो भएपछि मौद्रिक नीतिमार्फत ६ महीना समय थप गरिएको थियो । राष्ट्र बैङ्कले गत आवको बाह्य लेखापरीक्षण एवम् वित्तीय विवरण सार्वजनिक गर्दाको अवस्थासम्म चुक्तापूँजी पुगेको बेहोरा वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीमा उल्लेख हुनुपर्ने व्यवस्था गरेको थियो ।

थप अवधिमा पनि तोकिएको चुक्तापूँजी नपुगेमा विद्यमान व्यवस्थाअनुरूप नगद लाभांश र बोनस सेयर वितरण एवम् शाखा विस्तारमा रोक लगाउने, निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजानेलगायत कारबाहीको व्यवस्थालाई समेत राष्ट्र बैंकले मौद्रिक नीतिमा समेटेको छ ।

Advertisement

Advertisement

Advertisement