लहानमा विद्युत् महशुल अब अनलाइनबाटै

Advertisement

लहानः विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले आजदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा शुरु गरेको छ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी आजबाट अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा प्रारम्भ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए ।

वितरण केन्द्रमै आएर महशुल बुझाउँदै आएका ग्राहकले अनलाइन प्रविधिमार्फत अब इ सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेष्टमेन्ट बैंकलगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महशुल बुझाउन सकिने यादवले बताए ।

अनलाइन प्रबिधिबाट महशुल भुक्तानी गर्दा महशुल रकमबाहेक ग्राहकलाई थप कुनै किसिमको रकम लाग्ने छैन । वितरण केन्द्र पुगेर महशुल बझाउन आउँदा दैनिकजसो ग्राहकको भिड लाग्दै आएको छ । अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा शुरु भएपछि अब ग्राहकले अनावश्यक सास्ती बेहोर्नु नपर्ने विश्वास गरिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानअन्तर्गत ४५ हजार ग्राहक रहेका छन् ।

यस्तै विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महशुल नबुझाउने १४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ । बक्यौता विद्युत् महशुल नबुझाउने ग्राहकको विद्युत्लाइन काट्ने अभियान शुरु गरिएको कार्यालयले जनाएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले ५० हजारभन्दा बढी बक्यौता बाँकी रहेका २२० ग्राहकको विद्युत् लाइन काट्न शुरु गरेका हुन् । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटकपटक समयमै विद्युत् महशुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको यादवले बताए ।

Advertisement

Advertisement

Advertisement