ललितपुरमा आधाले चोर्छन बिजुली, चोरी नरोके जिल्लामै ‘ब्ल्याक आउट’ गर्ने प्राधिकरणको चेतावनी

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठितरुपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएका छन् ।

उनले राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण हो भन्दै १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरे प्राधिकरण ब्ल्याक आउट गर्न बाध्य हुने बताए । उनले भने, ‘त्यसपछि जस्तो जुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युतचोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’

ललितपुरको भित्री सहरी क्षेत्रमा पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायतका स्थानमा संगठितरुपमा विद्युत चोरी भइरहेको जनाइएको छ ।

गोदावरीतर्फ विद्युत आपूर्ति हुने फिडर अन्तर्गत हरिसिद्धी, गुहिटोल, ठैव, वाँडेगाउँ, लुभ जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङमा विद्युत अत्याधिक विद्युत चोरी हुने क्षेत्र भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँ लगायतका क्षेत्रका बासिन्दाले संगठितरुपमा विद्युतचोरी गरेको फेलापरेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए । ती क्षेत्रमा औसत विद्युत चोरी ५० प्रतिशत रहेको जनाइएको छ ।

प्राधिकरणले चोरीका कारण यी स्थानहरुबाट मात्रै वार्षिक करिव ५० करोड रुपियाँ राजश्व गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्णरुपमा विद्युतको प्रयोग गरिरहेका छन् । यसरी प्रयोग गरिएको विद्युत असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायतका काम संगठितरुपमै भइरहेको प्राधिकरण लगनखेल बितरण केन्द्रका प्रमुख विरेन्द्र सिंहको भनाई छ ।

उनी भन्छन, ‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठितरुपमै हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ । यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’

प्राधिकरणकाअनुसार, चोरी नियन्त्रणका लागि विद्युत वितरणको नांगो तारको सट्टा माइन्सुलेटेड एबीसी केवल फेर्ने, सडक वत्ति मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायतका काम व्यापकरुपमा भइरहेको प्राधिकरणले जनाएको छ ।

चोरी नियन्त्रणका लागि प्राधिकरणले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थलगायतसँग छलफल भइरहेको जनाएको छ । उपभोक्तालाई पनि विद्युत चोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिंदै पोष्टर टाँस्ने, माइकिङ लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको भन्दै प्राधिकरणले भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिकरुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रमहरु संचालन गरिने जनाएको छ ।

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत चुहावट छ । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । प्रणालीमा रहेको चुहावटमध्ये बितरणतर्फ रहेको १६.८२ को चुहावटलाई चालु आर्थिक वर्षमा ३.६४ प्रतिशतले घटाएर १३.१८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

Advertisement

Advertisement

Advertisement