बलेफी ‘ए’को क्षमता बढाएर १८ मेगावाट पुर्याइने

Advertisement

चौताराः निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ ।

साविक ४१ मिटर ग्रसहेडलाई ८० मिटर ग्रसहेडमा वृद्धि गरी थप विद्युत् शक्ति उत्पादन हुने देखिएपछि क्षमता विस्तार गरिन लागेको आयोजना प्रमुख सन्दीप जिसीले जानकारी दिए । विसं २०७१ मा सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण शुरु भएको सो आयोजना २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य छ ।

विसं २०७२ को भूकम्पले क्षति पुर्याएपछि काम रोकिएको थियो । तत्पश्चात शुरुमा निर्धारित विद्युत् शक्तिलाई वृद्धि गरेपछि समयपछि सरेर अब २०७७ सालमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैक, एनसिसी बैंक, बिजनेस युनिभर्सल बैंक र इन्फास्ट्रकचर बैंकको रु एक अर्ब २० करोड र प्रवद्र्धक कम्पनीको रु ५४ करोडसहित रु एक अर्ब ७४ करोडमा मुनलाइट हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको लागत वृद्धि भई रु दुई अर्ब ७० करोड पुगेको छ ।

हालसम्म आयोजनाको २० प्रतिशतमात्र काम सम्पन्न भएको छ । थप क्षमताको विद्युत् खरिद बिक्री सम्झौता (पिपीए)को लागि काम भइरहेको आयोजना प्रमुख जिसीले बताए । बलेफी करिडोरमा निजी क्षत्रबाट ४ दशमलव २ मेगावाटको बरम्ची आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ ।

निजी क्षेत्रबाट ३ दशमलव २ मेगावाटको गेलुङ खोला, शिव श्री हाइड्रोपावरद्वारा रु छ अर्बमा ३६ मेगावाटको अपर बलेफी र सिन्धु ज्वाला हाइड्रो पावरले रु छ अर्ब ६० करोडमा ४३ मेगावाटको अपर मेसम खोला जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement