तातोपानी नाका खोल्न गृहकार्य जारीः विश्वकर्मा, निर्यातमा सरकारले सहजीकरण गर्ने

Advertisement

काठमाडौंः वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले अन्य मुलुकमा उनीहरूको मागको अध्ययन गरी स्वदेशी ढाँचा, सीप र शैलीमा व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गरेमा त्यसलाई निर्यात गर्न सरकारले सहजीकरण गर्ने बताएका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको १८औं वार्षिक साधारणसभामा विश्वकर्माले भने, “व्यापारीले स्वदेशी उत्पादनले ढिलो प्रतिफल दिने हुँदा विदेशका सामान ल्याएर बिक्री गरेर कमिसन खाने गरेका छन्, त्यसले देशमा विकास र समृद्धि कायम हुँदैन ।”

उनले दलित, विपन्न वर्ग र महिलाले नेतृत्व गर्ने रु एक करोडभित्रको व्यवसाय निःशुल्क दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै व्यवसायी र सरकारकाबीच पारिवारिक सदस्य र अभिभावकको सम्बन्ध हुनुपर्ने बताए ।

केरुङ नाका व्यवस्थापन गर्ने र भूकम्पपछि बन्द भएको तातोपानी नाका खोल्नका लागि गृहकार्य भइरहेको विश्वकर्माले जानकारी दिए । निजी क्षेत्रको व्यवसायिक उन्नतीबाट मात्र सरकारले सफलता कायम गर्न सक्ने भन्दै उनले व्यवसायीले तिर्ने करबाट सरकारको लक्ष्यअनुसारको राजश्व संंकलन हुने हुँदा उनीहरूलाई आवश्यक ऐनको प्रबन्ध गर्नुका साथै कच्चा पदार्थ आयात तथा व्यापार प्रवद्र्धनमा सरकारले सहयोग जुटाउने बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरी, व्यवसायी कृष्णलाल प्रधानलगायतले विभिन्न दल तथा संगठनका नाममा व्यवसायीलाई चन्दा आतंक रहेको हुँदा सुरक्षाको माग गरे ।

संघका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायीको हकहित तथा अधिकार संरक्षण गरी उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउन संस्था प्रतिवद्ध रहेको जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement