‘हिजो यहाँबाट नेता दौडेर दिल्ली जान्थे, अहिले ओलीले गर्दा दिल्लीका नेता आउन बाध्य भए’

Advertisement

काठमाडौंः एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा ज्ञवालीले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए ।

स्वराजको नेपाल भ्रमणअघि नै एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन वार्तामा दुवै पक्षले एक–अर्कालाई भ्रमणको निम्तो दिएकोले सोही अनुसार मोदी नेपाल आउने उनले बताए ।

नेता ज्ञवालीले वामगठबन्धनले भारतसँग सुमधुर सम्बन्ध राखेर जान चाहेको सुनाए । उनले भने, ‘जसरी मोदीले ओलीलाई दुईपटक फोन गर्नुभयो, उहाँ स्वराज नेपाल भ्रमण आएर अविश्वास हटाउनुभयो ।’

ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि उनले बताए । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधार भएको ज्ञवालीको विश्वास छ । उनले भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरे ।

उनले स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको जिकिर गरे । ज्ञवालीले भने, “वामपन्थीको बहुमत आएकोमा बधाई दिँदै नयाँ सरकार गठनपछि सहकार्य गरौँ भन्नका लागि स्वराज आउनुभएको हो । नयाँ सरकारसँग सहकार्य गर्नका लागि वातावरण बनोस् भन्ने भारतको चाहना हो ।”

विगतमा नेपालमा नयाँ सरकार बन्ने बेलामा नेपालकै नेताहरु भारत दौडिने गरेकोमा अहिले भारतका मन्त्री नेपाल आउनु सकारात्मक भएको भन्दै उनले यसको कारण केपी भएको भएको बताए । ज्ञवालीले भने, “पहिला पहिला नेपालमा सरकार बन्ने बेला नेपालका नेताहरु दौडेर भारत जाने परम्परा थियो । यो गलत परम्परा तोडिएको छ ।”

उनले स्वराजको भ्रमणलाई सहजरुपमा लिनुपर्नेमा नकारात्मक टिप्पणी गरिएकोप्रति आक्रोस पोखे । ज्ञवालीले भने, “कतिपयले हिनताबोध र कुण्ठा व्यक्त गरेका छन् । यो आवश्यक छैन ।”

संविधान जारीपछिको नीतिमा भारतले पुनरावलोकन गर्न चाहेको संकेत पाइएको उनको भनाई छ । यद्यपी पछिल्लो समय नेपाल–भारतबीचको अविश्वास हटेर गएको भएपनि आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने ज्ञवालीले बताए ।

नेता ज्ञवालीले भने, “अब समस्या आउँदैन भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । कहिले अदुवा, कहिले चिया, कहिले कुचो निर्यातमा अवरोध भैरहेको छ । यसले नेपालको व्यापार घाटा बढाएको छ ।”

उनले बेला–बेलामा सिमा विवाद हुने गरेको उल्लेख गर्दै नयाँ नक्साअनुसार सिमानामा पिल्लर बनाउनुपर्ने बताए । फरक प्रसङ्गमा नेता ज्ञवालीले फागुन महिना भित्रमा नयाँ सरकार गठन र पार्टी एकता प्रक्रिया टुङ्गोमा पुग्ने दाबी गरे ।

पछिल्लो समय पार्टी एकता हुँदैन भनेर गरिएको प्रचारप्रति आक्रोषित देखिएका उनले एकता नचाहनेले गलत हल्ला चलाएको आरोप लगाए ।

Advertisement

Advertisement

Advertisement