खारेज भनिएका कार्यालयमा धमाधम पुनर्निर्माण

Advertisement

काठमाडौँ: सरकारले आउँदो चैतदेखि जिल्ला सदरमुकाममा रहेका अधिकांश कार्यालय नरहने बताएको छ । सदरमुकामबाट खारेज भएर स्थानीय तहमा समायोजन हुन लागेका हुन् । खारेज हुने निश्चित भएका सरकारी कार्यालयका भवन भने सदरमुकाम धुन्चेमा धमाधम निर्माण भइरहेका छन् । यो खबर बलराम घिमिरेले आजको कान्तिपुरमा लेखेका छन्।

सदरमुकाममा नरहने निश्चित भएका कार्यालय मध्य जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय, खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय, सहरी विकास तथा भवन सव डिभिजन कार्यालय, महिला तथा बालबालिका कार्यालय र सिंचाइ विकास सव डिभिजन कार्यालयको भवन निर्माण भइरहेको छ ।

स्थानीय तह हुनुभन्दा अगाडि नै उक्त भवनको डिजाइन भइ ठेक्का लागिसकेकाले निर्माण भइरहेको सहरी विकास तथा भवन सवडिभिजन कार्यालयका प्रमुख धिर फडेराले बताए । ‘महिला तथा बालबालिका कार्यालय भवन मन्त्रालयबाट निर्माण भएको हो,’ फडेराले भने, ‘अन्य कार्यालय भवन भूकम्पले क्षति गरेको हुनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत निर्माण भइरहेको छ ।’

सदरमुकाममा नरहने निश्चित भएका कार्यालयको भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट करोडौं बजेट आएको छ । ती भवनको काम २० प्रतिशत सकिएको छ । अहिले निर्माण भइरहेका कार्यालय दुई वर्षभित्र सम्पन्न हुनेछ । जिल्लाका कार्यालय स्थानीय तहमा समायोजन हुने कार्यक्रम आउनु पूर्व नै भवन निर्माणको कार्यक्रम सुरु भएको सहरी विकास तथा भवन सव डिभिजन कार्यालयले जनायो ।

खारेजीको तयारीमा रहेका जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति र मालपोत कार्यालय गत वर्ष नै निर्माण सम्पन्न भइसकेका छन् । सरकारले भनेअनुसारको हुने हो भने चैत महिनापछि निर्माण सम्पन्न भएका र निर्माणाधीन भवन प्रयोगमा आउने देखिँदैन । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिनेशबाबु तिवारीले कार्यालय खारेजको बारेमा माथिबाट अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको बताए । ‘हामीले पनि हल्ला सुनेका छौं चैतबाट कार्यालय खारेजी हुन्छ,’ उनले भने । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. विनोद कट्टेलको भनाइ पनि उस्तै रहेको छ । कार्यालय खारेजीको बारेमा अहिलेसम्म माथिबाट कुनै निर्देशन नआएको उनले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement