प्रदेश १ को बैठक: ‘विकास र समृद्धिका लागि स्वस्थ प्रतिस्पर्धा गरौं’

Advertisement

विराटनगर: “विकास र समृद्धि सबैको साझा एजेण्डा हुनुपर्छ । यही लक्ष्य प्राप्तिका लागि स्वस्थ्य प्रतिस्पर्धा गरौँ ।”

जिल्ला समन्वय समितिको सभाभवनमा भएको प्रदेश नं १ को पहिलो ऐतिहासिक प्रदेशसभा बैठकमा आज यही विचार मुखरित भयो । बैठकमा छ राजनीतिक दलका प्रतिनिधि र एक स्वतन्त्र सांसदले आ–आफ्ना मन्तव्य राखेआ थिए ।

उनीहरुले प्राकृतिक सम्पदामा धनी प्रदेश नं १ मा धार्मिकस्थल, पर्यटकीयस्थल, संसारकै अग्लो हिमाल, वनजङ्गल, खानीलगायतका धार्मिक र प्राकृतिक सम्पदा रहेको भन्दै यो प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।

बैठकमा पहिलो वक्ता नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशमा विकासको प्रचूर सम्भावना रहेको र विकासको ढोका खोल्न सबै एकजुट हुनुपर्ने बताए ।

कृषि र जलस्रोतको विकास गरी औद्योगिक गतिविधिलाई गति दिनुपर्ने उनको भनाइ थियो ।

नेपाली काँग्रेसका सांसद चन्द्रप्रसाद श्रेष्ठले बहुजाति र बहुधार्मिक समुदायबीच भावनात्मक एकता कायम गर्ने दायित्व आपूmहरुको काँधमा रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद इन्द्रबहादुर आङ्बोले प्राप्त उपलब्धिलाई रक्षा गरी जनताका बीचमा गरिएका प्रतिबद्धतालाई पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । बेरोजगारी समस्याको समाधान खोज्नुपर्नेमा उनको जोड थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद् जयराम यादवले राष्ट्रिय एकता र सार्वभौमिकतालाई अक्षुण्ण राख्नुपर्ने बताए ।

स्थायी सरकार नबनेसम्म प्रदेशको पनि विकास हुन नसक्ने भन्दै उहाँले वाम गठबन्धनलाई स्थायी सरकार बनाउन आग्रह गरे ।

राप्रपाका सांसद इन्दिरा राईले जातीयता र क्षेत्रीयताबाट माथि उठेर अगाडि बढ्नुपर्ने धारणा प्रकट गरे ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद विष्णु तुम्बाहाम्फेले अस्तित्व पहिचानका लागि सङ्घर्ष भइरहेको उल्लेख गर्दै प्रदेश नं १ को पुनःसीमाङ्कन हुनुपर्छ भने ।

स्वतन्त्र सांसद नारायणबहादुर मगरले प्रदेश नं १ का विभिन्न पर्यटकीय स्थल र हिमशृङ्खलाको प्रचारबाट लाखौँ पर्यटक भित्र्याउन सकिने सम्भावनालाई औँल्याए ।

मौलिक पहिरनमा सांसद
अधिकांश प्रदेशसभा सदस्य दौरा सुरुवालमा हुनुहुन्थ्यो । सङ्घीय समाजवादी फोरमका सदस्य जयराम यादव कुर्ता पाइजामा, बण्डी र गम्छामा हुनुहुन्थ्यो । अधिकांश महिला सांसद साडी चोलोमा हुनुहुन्थ्यो भने सोलुखम्बुको ‘ख’ का प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले शेर्पाको पहिरन छेवा (बख्खु) र शेर्पाली टोपी लगाएका थिए ।

बैठकस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement