चालु आ.व. को छ महिनामा नेपालको व्यापारघाटा झन्डै ५ खर्ब

Advertisement

काठमाडौँ: चालु आर्थिक वर्ष २०७४/७५ को छ महिनामा नेपालको व्यापारघाटा ४ खर्ब ९३ अर्ब रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापारघाटामा १४ दशमलब ८ प्रतिशतले वृद्धि भई ४ खर्ब ९३ अर्ब रुपियाँ पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

आ.व. २०७४/७५ को प्रथम छ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ दशमलब ५ प्रतिशतले वृद्धि भई ५ खर्ब ७५ अर्व ७४ करोड रुपियाँ पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ दशमलब १ प्रतिशत र ९२ दशमलब २ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेपालको कुल निकासी १२ दशमलब ६ प्रतिशतले वृद्धि भई ४१ अर्ब १६ करोड रुपियाँ तथा कुल पैठारीमा १४ दशमलब ६ प्रतिशतले वृद्धि भई ५२३ अर्ब रुपियाँ पुगेको छ ।

त्यसैगरी, आ.व. २०७४/ ७५ को प्रथम छ महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३ रहन आएको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् ।

समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा १२ दशमलब १ प्रतिशतले ह्रास आई ३ अर्ब २८ करोड र टेक्सटाइलको निर्यातमा २ दशमलब १ प्रतिशतले ह्रास आई १ अर्ब ५५ करोड रुपियाँ पुगेको छ ।

यसैगरी नेपाली तयारी पोशाकको निर्यातमा ११ दशमलब ४ प्रतिशतले वृद्धि भर्ई ३ अर्ब रुपियाँ र फलाम तथा स्टील र तिनका उत्पादनहरुको निर्यातमा ५ दशमलब ३ प्रतिशतले वृद्धि भर्ई २ अर्ब ९३ करोड पुगेको छ ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् ।

आयाततर्फ, आ.व. २०७४/७५ को प्रथम छ महीनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ३४ दशमलब ५ प्रतिशतले वृद्धि भई ६९ अर्ब ६६ करोड र फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा १२ दशमलब १ प्रतिशतले वृद्धि भई ५६ अर्ब ७७ करोड पुगेको छ ।

समीक्षा अवधिमा यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ११ दशमलब ३ प्रतिशतले ह्रास आई ४१ अर्ब ६१ करोड पुगेको छ ।

नेपालको आयातको प्रमुख श्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । यसै गरी नेपालको आयात व्यापारमा दोश्रो स्थानमा रहेको उत्तर तर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

अर्को प्रमख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ ।

Advertisement

Advertisement

Advertisement