सेयर बजार १४०० अंकबाट फेरि ओर्लियो, जम्मा २४ करोडको सेयर किनबेच

Advertisement

काठमाडौंः सेयर बजार परिसुचक नेप्से एक हजार चारसयबाट फेरि ओरालो लागेको छ । सोमबार दोहोरो अंकले घटेको नेप्से आज छ अंकले घटेर एक हजार ३९४ अंक कायम भयो भने कारोबार रकम छ करोड रुपियाँभन्दा बढिले घटेर २४ करोड ४२ लाखमा सीमित भयो ।

आज पनि कुनै पनि समुहगत उपसुचकमा सुधार आउन सकेन । सबैभन्दा बढि व्यापार समूहको उपसुचक दुई दशमलव ७१ प्रतिशतले घटेको छ भने त्यसपछि जलविद्युत समूहको उपसुचक एक दशमलव २६ अंकले घटेको छ । बाँकी समूह एक प्रतिशतभन्दा कमले घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार गर्ने सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढि एक करोड ६३ लाख रुपियाँको सेयर किनबेच भएको छ भने बाँकीको कारोबार लाखमा सीमित छ । आज नाफा धेरै गर्नेमा सिन्धु विकास बैंकका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि छन् ।

पछिल्लो समयमा सेयर बजारमा मूल्यअभिवृद्धि कर लागू गर्ने विषयमा देखिएको अन्योल, अबको वामपन्थी सरकारले लिने आर्थिक नीतिप्रतिको आशंका, वित्तीय क्षेत्रमा अझै कायम रहेको तरलताको समस्या, ऋणको ब्याजदरमा कमी आउन नसक्नु, कम्पनीहरुको हकप्रद र बोनस सेयर दिने क्रममा कमी आउनु, निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले नाफाको ठूलो रकम लैजाने भएपछि चलेको हल्ला जस्ता कारणले सेयर बजार फस्टाउन नसकेको विश्लेषकहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement