सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ, दुई दिनमै २३ करोड संकलन

Advertisement

पोखराः पर्यटकीय नगरी पोखराको सराङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले सोमबारबाट सराङकोटमा आयोजित महायज्ञमा दुई दिनमै २३ करोड रुपियाँ संकलन गरिएको छ ।

एक दशकअघि सुरु गरिएको विशाल शिव मन्दिरको पूर्णताका लागि महायज्ञ आयोजना गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

महायज्ञबाट संकलित रकमबाट ५१ फिटको शिवमूर्ति स्थापना गर्ने लक्ष्य राखिएको छ भने मन्दिरको पूर्णताको लागि १०८ शिवलिङ, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर, विशाल बौद्ध मन्दिरको निर्माण गरिने छ ।

त्यस्तै, गुरुयोजना अन्तर्गत शिवमन्दिर निर्माण, बहुउद्देश्यीय भवन निर्माण, ऐतिहासिक संग्रालयल, भ्यूटावर, बालउद्यान, पार्क फुटट्रयाक, हेलीप्याड, वनभोजस्थल आदिको निर्माणमा खर्च गरिने जिसीले बताए ।

पोखरा लेखानाथ महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापाले २९ करोडको प्रस्तावित गुरुयोजना पूरा गर्न महायज्ञ आयोजना गरिएको बताए । महायज्ञको दोस्रो दिनसम्म नगद तथा जिन्सी गरी २३ करोड बराबरको सहयोग घोषणा गरिएको थापाले बताए ।

सराङकोटमा धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन नै बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्टले १६ करोड १० लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यस्तै, पूर्व सभासद् सूर्यबहादुर केसीले १० तोला सुन सहयोग गर्ने घोषणा गरेका भने पण्डित कुलप्रसाद पहारी (घनश्याम)ले एक रोपनी जग्गा दान, अध्यक्ष प्रेम बहादुर जिसीले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

एक सय रोपनी क्षेत्रमा फैलिएको सराङकोट क्षेत्रको विकासका लागि पोखरा लेखनाथ महानगरपालिकामा १३ करोडको पूर्वाधार योजना पेश भइसकेको छ । २०६१ सालमा सुरु गरिएको मन्दिर निर्माणका लागि हालसम्म ९७ लाखभन्दा बढि खर्च भएको छ । निर्माणको चरणमा रहेको अन्नपूर्ण केवलकार, उद्योगी व्यवसायी, राजनीतिक दल, स्थानीय सहयोगीहरुको संलग्नतामा बृहत्तर योजना अन्तर्गत केही पुर्वाधारका योजना प्रस्ताव गरिएको पनि जिसीले बताए ।

समुद्री सतहदेखि एक हजार ५९२ मिटरको उचाईमा रहेको सराङकोट विशेष गरी साहसिक पर्यटनको केन्द्र विन्दु हो । प्याराग्लाइडिङ, जिप फ्ल्याएर सञ्चालित छ । त्यसमा पनि अब केवलकार निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीय बासिन्दाले लिएका छन् ।

महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतम रहेका छन् । महायज्ञमा दैनिकरुपमा श्रीमद्भागवत कथा वाचन, लघुरुद्री पाठ, दानविर सम्मान, सामूहिक ब्रतबन्ध, चौरासी पूजा लगायतको धार्मिक कार्यक्रम राखिएको सराङकोट समाज सेवा युवा क्लबमा पूर्व अध्यक्ष बेलबहादुर जिसीले जानकारी दिए । महायज्ञ फागुन १ गतेसम्म संचालन हुनेछ ।

Advertisement

Advertisement

Advertisement