वीपीसीको विवादास्पद एफपीओमा लगानीकर्ताको अविश्वास, मागअनुसार आवेदन नपरेपछि म्याद थप

Advertisement

काठमाडौंः बुटवल पावर कम्पनीको विवादित थप सेयर निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि पुनः म्याद थप गरिएको छ । थपिएको म्यादमा संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले आर्थिक प्रलोभनमा साधारण सेयर निष्काशन नगरी महंगो मूल्यमा बीपीसीलाई एफपीओ जारी गर्न अनुमति दिएको तथ्य बाहिर आइरहेको बेला यस कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण निकै घटेको देखिएको हो ।

यस कम्पनीको सेयर बिक्री प्रबन्ध गर्ने जिम्मा पाएको एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिन लागिएको जनाएको छ । बीपीसीले दुई अर्ब बराबरको एफपिओ जारी गरेकामा अझै रु ८० करोड बराबरको एफपिओ बिक्री भएको छैन ।

रु एक अर्ब २० करोड बराबरको मात्रै एफपिओ बिक्री भएपछि संस्थागत लगानीकर्ताले लगानी गर्न पाउने बनाइएको हो । यो भनेको कूल रकमको करिब ५३ प्रतिशत हो ।
यही माघ १५ गतेदेखि सर्वसाधारणका लागि भन्दै ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री खुल्ला गरेको बीपीसीले आफ्नो शेयर प्रतिकित्ता रु १०० मा रु ४०१ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता रु ५०१ मा एफपिओ जारी गरेको हो ।

कुनै पनि कम्पनीले सार्बजनिक निस्कासन गर्दा सुरुमा चार दिनको लागि बिक्री खुल्ला गर्ने र उक्त चार दिनमा सेयर बिक्री नभए समय थप गर्दै एक महिनाभित्रमा बिक्री गर्न पाइन्छ ।

शुक्रबारसम्म संस्थागत लगानीकर्ताले समेत कति सेयर किने भन्ने कुरा बिक्री प्रवन्धकले जानकारी दिएको छैन । बीपीसी ५० प्रतिशतभन्दा बढि सेयर बिक्री भएकोले अब पूरै बिक्री नभए अन्डरराइट गर्ने कम्पनीले किन्ने भए पनि बजारमा बीपीसी जस्तो कम्पनीको सेयर सोचेअनुसार बिक्री नहुनु उक्त कम्पनीप्रति लगानीकर्ताको गम्भीर अविश्वास र आशंकाको रुपमा हेरिएको छ ।

अन्डरराइट गर्ने कम्पनीहरु एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआइबिएल क्यापिटल, ग्लोबल आइएमइ क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले ५० प्रतिशतभन्दा बढि सेयर बिक्री भएर बाँकी रहेको सेयर आफूहरुले किन्ने प्रत्याभूति गरेकाले यदि संस्थागत लगानीकर्ताहरुबाट समेत बीपीपीको खरिद नभएको भए उनीहरुले त्यो सेयर सेयर किन्नुपर्नेछ ।

जम्मा १० करोड रुपियाँ पुँजीका यस्ता कम्पनीले बीपीसीको करोडौं सेयर किनेर बीपीसीलाई भुक्तानी गर्नुपर्यो भने ती कम्पनीहरु धरासायी हुनुका साथै उनीहरुको तरलतादेखि नाफा आर्जन गर्ने, अन्डरराइट र बिक्री प्रबन्धकको काम गर्ने कुरासमेत प्रभावित हुने देखिन्छ । यसको असर उनीहरुका मातृ कम्पनी (बैंक)हरुमा समेत पर्ने देखिन्छ ।

सर्वसाधारणको लगानी रहेका यी कम्पनीमा एनएमबी बैंकको हायक कम्पनी एनएमबी क्यापिटल हो भने लक्ष्मी बैंकको लक्ष्मी क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंकको एनआइबिएल क्यापिटल, ग्लोबल आइएमइ बैंकको ग्लोबल आइएमइ क्यापिटल र नबिल बैंकको नबिल इन्भेष्टमेन्ट बैंकिङ हो ।

Advertisement

Advertisement

Advertisement