अमेरिकी खर्च विधेयकमा ट्रम्पको हस्ताक्षरसँगै सरकारलाई काम गर्ने बाटो खुल्यो

Advertisement

बीबीसी: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खर्च सम्बन्धी नयाँ पारित विधेयकमा हस्ताक्षर गरेर त्यसलाई कानुनी रुप दिएका छन्।

त्यसबाट छोटो समयका लागि बन्द भएको अमेरिकी सरकार पुन: संचालनमा आएको छ।

सिनेटले उक्त विधेयक पारित गर्नु पर्ने समयसीमा नाघेपछि अमेरिकामा यस वर्ष दोस्रो पटक सरकार बन्द हुन पुगेको थियो। पछि उक्त विधेयक पारित भएको थियो।

वैधानिक खर्च व्यवस्थाको अभावमा मध्यरातपछि केहि समयका लागि बन्द हुन पुगेको सरकार पुन: संचालन हुन सक्ने गरी राष्ट्रपति ट्रम्पले कंग्रेसबाट अनुमोदित विधेयकमा हस्ताक्षर गरेका छन्।

उक्त ६५० पृष्ठ लामो खर्च योजनामा प्रतिरक्षा र आन्तरिक सेवाहरुमा गरिने खर्चको सीमा बढाइएको छ।

बुधबार मात्र सार्वजनिक गरिएको उक्त दस्तावेजका साना विवरणहरु अझै स्पष्ट भैसकेका छैनन्।

पांच घन्टासम्म सरकार बन्द हुन पुगेको अवस्था यो वर्ष रिपब्लीकन नियन्त्रीत कंग्रेस अन्तर्गत दोस्रो पटक हो।

शुक्रबार उक्त पारित विधेयकमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले अब अमेरिकी सेना पहिले भन्दा बलियो हुने बताएका थिए।

सरकार संचालनका लागि आगामी दुई वर्षसम्म खर्चको व्यवस्था गर्ने उक्त विधेयक मध्य रातको समयसीमा अगाडी नै पारित हुनु अघि सिनेटरहरुले अन्तिम समयमा केहि असहमतिहरुको सामना गर्नु परेको थियो।

दुवै दलका सांसदहरुले खर्च योजना र अन्य राजनीतिक मागहरुका बारे बहस गरेका थिए।

वित्तीय पुरातनवादीहरुले उक्त विधेयकको विरोध गरेका थिए, जसमा अर्बौं डलरको खर्चको सीमालाई बढाइएको थियो।

थुप्रै डेमोक्र्याटहरुले उक्त विधेयकमा बालकै छंदा अमेरिका प्रवेश गरेका आप्रवासीहरुको सुरक्षा गर्ने प्रावधानहरु संलग्न नगरेको भनी त्यसको आलोचना गरेका छन्।

Advertisement

Advertisement

Advertisement