युएई र साउदी अरबका लागि श्रम काउन्सिलर र सहचारीका लागि आवेदन माग

Advertisement

काठमाडौँ: श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सिलर र सहचारीका लागि आवेदन माग गरेको छ ।

नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सेलर र नेपाली राजदूतावास कतार र बहराइनका लागि अधिकृतस्तरको श्रम सहचारीका लागि आवेदन माग गरेको मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जानकारी दिए ।

श्रम काउन्सिलर तथा श्रम सहचारीसम्बन्धी कार्यविधि २०७३ अनुसार श्रम तथा रोजगार मन्त्रालय वा मन्त्रालयअन्तर्गतका विभाग र निकायमा कम्तीमा एक वर्षदेखि काम गरेको तथा निजामती सेवामा अधिृकतस्तरको कर्मचारीका रुपमा सेवा प्रवेश गरेको अवधि कम्तीमा तीन वर्ष पुगेकाले आवेदन दिन सकिने श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले इच्छुक उम्मेदवारले ३५ दिनभित्र निवेदन दिन आह्वान गरेको छ ।

कतारमा पोखरेल र मलेसियामा रम्तेल

यसैबीच श्रम काउन्सेलरको प्रतीक्षासूचीमा रहेका मन्त्रालयका उपसचिव शिवराम पोखरेललाई कतारको श्रम काउन्सेलर र मलेसियाको श्रम सहचारीमा शाखा अधिकृत सनमाया रम्तेललाई नियुक्त गरिएको छ ।

गत भदौमा लिइएको काउन्सेलर सहचारीको परीक्षामा प्रतीक्षा सूचीमा रहेका उहाँहरु एक वर्षभित्र कुनै देशमा काउन्सेलर र सहचारीको पद रिक्त भएमा स्वतः नियुक्ति पाउने कार्यविधिअनुरुप नियुक्ति पाउनुभएको मन्त्रालयका प्रवक्ता आचार्यले जानकारी दिए ।

उनीहरु दुवै जनाले परराष्ट्र मन्त्रालयले काउन्सेलर सहचारीलाई दिने तालीमका लागि परराष्ट्र मन्त्रालयमा हाजिरी गर्न शुरु गरेको प्रवक्ता आचार्यले बताए ।

Advertisement

Advertisement

Advertisement