धार्मिक पर्यटनको सम्भावना विशाल, प्रयास शुन्य

pashupati-temple

नेपालको पर्यटन क्षेत्रमा धार्मिक तथा आध्यात्मिक क्षेत्रले प्रत्यक्ष र परोक्ष ठूलो भूमिका खेलेको छ । नेपाल आउने प्रायः सबै पर्यटक कुनै न कुनै रुपमा नेपालको धार्मिक र आध्यात्मिक विषयहरुबाट प्रभावित भएकै हुन्छन् । यदि त्यस्तो छैन भने पनि साइड सिनका लागि भए पनि कुनै न कुनै धार्मिक, आध्यात्मिक तथा ऐतिहासिक क्षेत्रमा पुगेकै हुन्छन । उनीहरुले त्यहाँ केही न केही खर्च गरेकै हुन्छन् । त्यत्ति मात्र होइन प्रत्यक्ष रुपमा नेपालको धार्मिक, सांस्कृति, आध्यात्मिक र ऐतिहासिक अवस्था बुझ्न धेरै पर्यटक वर्षेनी नेपाल आउँछन् । तर, तीनको रेकर्ड राख्ने र त्यसलाई विश्लेषण गरि धार्मिक पर्यटनलाई, पर्यटनको विधाका रुपमा विकास गर्न कहीं कतैबाट गम्भीर प्रयास भएको भने छैन ।

नेपालको काठमाडौंलाई केही वर्ष अघिसम्म र अझै पनि मन्दिर नै मन्दिरको शहरका रुपमा पर्यटकले चिन्दछन् । नेपाललाई विश्व पर्यटन जगतमा एक रहस्यमयी देश, जहाँको जग धार्मिक र आत्यात्मिक स्तम्भमा अडेको रुपमा अझै मानिन्छ । नेपाल आउने पर्यटक विश्वका अरु देशमा पुगेर मोज मस्ति गर्ने उद्देश्य राखे जस्तो नेपालमा राख्दैनन् । किनकी नेपालको पर्यटन गन्तब्य विशेष खालको छ । त्यो विश्व पर्यटन जगतमा विविध नै छ ।

nic-asia

पर्यटन क्षेत्रको जननी धार्मिक क्षेत्र
वास्तवमा गहिरिएर हेर्ने हो भने पर्यटन क्षेत्रको जननी हिन्दू धार्मिक गतिविधि हो । महाशिवरात्रीको पूर्वसन्ध्यामा यो लेखे लेखिराख्दा भारत लगायत देशका विभिन्न भेगबाट र विश्वका कतिपय ठाउँबाट नेपालको पशुपतिमा मानिसहरु आइपुगेका छन् । यो प्रक्रिया हजारौं वर्ष अघिदेखि शुरु भएको हो । तपाईं कल्पना गर्नुस्, हजारौं वर्ष पहिलेको अवस्थामा पनि आगन्तुकहरुले यस्तै भ्रमण गर्ने गर्थे । कुनै पनि व्यक्ति आफू बसिआएको ठाउँ छोडेर निश्चित समयका लागि अर्काे ठाउको भ्रमण गर्नु नै पर्यटन हो ।

हिन्दू तीर्थस्थलहरुलाई गहिरिएर हेर्याे भने भौगोलिक विविधतासहित त्यसको स्थापना गरेको पाइन्छ । ती तीर्थस्थलहरु हिमाली भेगदेखि पहाड हुँदै तराई र समुन्द्रको किनारसम्म फैलिएका छन् । हिन्दू धार्मिक अभियानमा लामो र कठोर साधना गर्नका लागि हिमाली र पहाडी क्षेत्रमा वर्षाैसम्म रहने पद्धति परापूर्वकालदेखि अहिले पनि कायम नै छ । तसर्थ, आधुनिक पर्यटन उद्योगको जननी पूर्वीय धार्मिक दर्शन र त्यसको अभ्यास नै हो । त्यो क्रम विकसित भएको विधि पर्यटनका रुपमा आधुनिक युगमा फैलन पुगेको हो ।

lumbini-templeधार्मिक पर्यटनको सम्भावना
“धर्म” कुनै पनि मानिसको विश्वासको पुञ्ज हो । आफनो विश्वासप्रति लगाव राख्न र तीनको तीर्थस्थलमा भ्रमण गर्न रुचाउनु मानिसको स्वभाविक रुचि हो । सोही अनुसार मानिसहरु धार्मिक यात्रामा निस्कन्छ ।

विश्वका धेरै देशको पर्यटनको आधार हेर्याे भने देश पिच्छे फरक फरक छन् । मकाओले क्यासिनोलाई आफनो पर्यटनको आधार मानेको छ । सिंगापुरले व्यापारिक गतिविधिलाई पर्यटनको आधार मानेको छ । दुवईले मानव निर्मित संरचना र स्वतन्त्रतालाई पर्यटनको आधार मानेको छ । त्यसैगरी थाइल्याण्डले सामुन्द्रिक सौन्दर्य र यौन गतिविधीलाई पर्यटनको आधार मानेको छ । युरोपले पुरानो संरचना, सभ्यता र आधुनिक संरचनालाई मिश्रण गरि पर्यटनको आधार विकास गरेको छ ।

हो, उसो भए नेपालले आफनो पर्यटनको आधार पहिचान गर्ने र त्यसलाई प्राथमिकीकरण गर्ने बेला आएन ? नेपालमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, आराध्यदेव भगवान पशुपतिनाथ, मुक्तिनाथ, माता सिताको जन्मस्थल जनकपुरधाम, हलेसी महादेव मन्दिर, मनकामना मन्दिर, दामोदरकुण्ड, गोसाईकुण्ड, देवघाट, रिडी क्षेत्र, वराह क्षेत्र, स्वयम्भू, बौद्धनाथ जस्ता अति धार्मिक महत्वले भरिएका गन्तब्यहरु छन् ।

अर्काेतिर हेर्ने हो भने छिमेकी देश भारतको एक अर्ब जनसंख्या हिन्दूमार्गी रहेको छ । त्यसैगरी उत्तरी छिमेकी देश चीनमा पनि मानिसहरु बुद्ध धर्मप्रति विश्वास गर्ने धेरै छन् । यसरी हेर्दा यो जनसंख्याको दश प्रतिशत मात्र पनि नेपाल भित्र्याउन सकेमा देशको पर्यटनले पछि फर्केर हेर्नुपर्ने छैन ।

हरिविजोग अवस्था
धार्मिक क्षेत्रहरु पर्यटनको आधार हुँदाहुँदै पनि देशको राजनीतिले त्यसलाई महत्व दिने गरेको छैन । ती स्थलहरुमा राजनीति गर्ने, राजनीतिक नियुक्ति गरेर भ्रष्टाचार गर्ने अखडाका रुपमा परिणत गर्न देशको राजनीति उद्धत्त छ । पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष लगायतका धार्मिक क्षेत्रलाई संरक्षण र संवद्र्धन गर्न गठित निकायमा कार्यकर्ता नियुक्त गर्न करोडौं रुपियाँ भित्रभित्रै लेनदेन हुने गरेको छ । यसरी नियुक्ति हुने व्यक्तिहरुले ती क्षेत्रको संरक्षण गर्न मन लगाउनुको साटो धनतिर मन दिने गरेको प्रष्ट देखिन थालेको छ ।

खासगरी आराध्यदेव पशुपतिनाथ क्षेत्रलाई भद्रगोल पारिएको छ । पशुपति क्षेत्रभित्र रहेका संरचनाको संरक्षण कत्ति हुन सकेको छैन, लथालिङ पारिएको छ । साथै लुम्बिनीमा पनि तोकिएको मापदण्ड विपरित ती क्षेत्रमा प्रदुषण फैलाउने उद्योग र व्यवसायलाई गैरकानुनीरुपमा अनुमति दिने गरिएको छ । यसले गर्दा यस क्षेत्रमा पुग्ने पर्यटक दिक्दार मान्दै फर्कनुपर्ने अवस्था सिर्जना भएको छ । यी क्षेत्रलाई मर्यादित बनाएर पर्यटकमैत्री बनाउन कसैको ध्यान गएको छैन ।

janakpur-dhamविशेषतामा आधारित संरचना विकास
खासमा भन्ने हो भने कुनै पनि धार्मिक क्षेत्रलाई त्यहाँको विशेषतामा आधारित विकासका मोडल बनाएर अघि बढाउनुपर्ने हो । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको निश्चित क्षेत्रलाई सवारीसाधन निषेध गरि त्यहाँ पुग्ने मानिसहरु शान्तपूर्वक बसी शान्तिको अनुभव गर्न पाउने वातावरण बनाइनुपर्ने हो । त्यसैगरी, ठाउँ ठाउँमा पिपलका रुख लगाएर भगवान गौतम बुद्धले ज्ञान पाएझै विश्वबाट आउने पर्यटकले चाहेको खण्डमा पिपलको फेदमुनि बसी ध्यान गर्नमिल्ने वातावरण र संरचना बनाउनुपर्ने हो । तर, त्यसको विपरित विदेशीको सहयोग आयो भन्दैमा जथाभावी गुम्बा निर्माण गर्न दिएर लुम्बिनी कुरुप बनाइँदै छ । घुस खाँदै स्वीकृति दिएर खोलिएको प्रदुषणजन्य उद्योग र गतिविधिले लुम्बिनी क्षेत्र दिन प्रतिदिन संकटमा पर्दै गएको छ ।

पशुपति क्षेत्रको अवस्था दर्दनाक छ । पशुपतिमा आम्दानी नभएको पनि होइन, नहुने पनि होइन । पशुपति क्षेत्र विकास कोषसँग कोषको अभाव भएको पनि होइन । तर, किन पशुपतिको अवस्था दर्दनाक छ ? यसको जवाफ कोही कसैसँग छैन । पशुपति विकास कोषको नाममा रहेको गुठीको जग्गा जथाभावी दोहन भइरहेको छ । कतिपय जग्गा त व्यक्तिको नाम–नाममा गइसके । वर्ष दिनमा दुई दिन अर्थात महाशिवरात्री र तिजका बेला ओइरिने मानिसलाई व्यवस्थित गर्न काम गरिरहेका छौं भन्नेबाहेक कोषले खासै काम गरेको छैन । जसले गर्दा त्यहाँ पुग्ने पर्यटकबाट रकम उठाइन्छ । तर, सदुपयोग भने भएको छैन । जुन अपेक्षा साथ पर्यटक र भक्तालु पशुपति पुग्छन सो अपेक्षा पुरा हुने अवस्था छैन । अझ उनीहरुमार्फत नकारात्मक सन्देश फैलने अवस्था सिर्जना भएको छ ।

सोच बिनाको राजनीति
कुनै पनि नयाँ प्रधानमन्त्री आएपछि निवास बालुवाटार सर्दा होस वा पदवहाली गर्दा होस, धार्मिक विधिबाट पूजाआजा गरेको सर्वत्र चर्चा हुने गरेको छ । हो, आफनो विश्वास अनुसार धार्मिक प्रक्रिया अपनाएर शुभकार्य गर्नु नितान्त स्वागतयोग्य कार्य हो । तर, तिनै व्यक्तिहरु पदमा रहँदा धर्मको संरक्षण र संवद्र्धनमा सिन्को भाँच्ने गरेका छैनन् । उनीहरुको नजरमा यो क्षेत्र पर्ने गरेको छैन ।

अझ भनौं देशको पछिल्लो राजनीतिले धार्मिकस्थलको संरक्षणमा कुनै भूमिका निर्वाह गर्न सकेको छैन । नयाँ संरचना निर्माण हुने वा फैलने त कल्पना नै नगरौं भइरहेका संरचना जोगाउन पनि केही कदम चाल्ने गरिएको छैन । जसले गर्दा देशमा धार्मिक पर्यटनको विकासको सम्भावना पर्याप्त हुँदाहुँदै पनि कुनै प्रयास हुन सकेको छैन ।

निजी व्यवसायीहरुको प्रयास अपुग
धार्मिक पर्यटन क्षेत्रमा केही निजी व्यसायीले लामो समयदेखि काम गर्दै आएका छन् । केही पर्यटन व्यवसायी धार्मिक पर्यटन क्षेत्रमा नै समर्पित भई कार्यरत समेत छन् । खासगरी नेपाल हुँदै चीनको कैलाश–मानसरोवर सम्मको यात्रा सञ्चालनमा केही व्यवसायीले उल्लेख्य काम गर्दै आएका छन् । कैलाश–मानसरोवरको यात्रा सञ्चालन गर्दा यस यात्रामा आउने पर्यटकले नेपालको पशुपतिनाथ दर्शनसहित लुम्बिनी, हलेसी, जनकपुरधाम, मुक्तिनाथ, मनकामना लगायतका क्षेत्रमा सँगसँगै घुम्ने गर्दछन । त्यसको समग्र प्याकेज बनाएर विश्व पर्यटन बजारमा बेच्न केही नेपाली व्यवसायीले ठूलो काम गरेका छन् । राज्य संयन्त्रको उपेक्षा हुँदाहुँदै पनि ती व्यवसायीको अथक प्रयासले देशको धार्मिक पर्यटनलाई जगाई राखेको छ ।

तर, पनि यो प्रयास अहिलेको सन्दर्भमा निकै अपुग देखिन्छ । कतिपय विषयमा निजी क्षेत्रको प्रयास अपूर्ण रहन्छ । जबसम्म सरकारी निकायले त्यसमा भूमिका निर्वाह गर्दैन, यसमा पनि सोही नियति धार्मिक पर्यटनमा सक्रिय निजी क्षेत्रका पर्यटन व्यवसायीले भोग्दै आएका छन् । साथै, धार्मिक पर्यटन क्षेत्रमा काम गरिरहेका व्यवसायीबीच देखा पर्न थालेको अस्वस्थ गतिविधिले पनि यस क्षेत्रको भविष्यमाथि प्रश्न जगाइदिएको छ ।

shiva-ratriएकीकृत प्रयासको खाँचो
देशको कतिपय गुम्बामा आएर पश्चिमी देशका पर्यटक महिनौंसम्म ध्यान गरेर फर्कन्छन । देशको कतिपय मन्दिरमा पश्चिमी देशका पर्यटक शान्तिको खोजी गर्दै पुग्छन् । हो, पश्चिमी समाजले अपनाएको भौतिक विकास मात्रको विकासले त्यहाँका नागरिक पीडित बनेका छन् । कुनै दिन हिप्पी बनेर नेपालसम्म आइपुगेका ती देशका नागरिक आजका दिनमा शान्तिको खोजी गर्दै धार्मिक पर्यटक बनेर नेपाल आउने प्रतिक्षामा छन् । तर, नेपालको राजनीति, प्रशासन र निजी क्षेत्र सबै बेखवर जस्ता देखिन्छन् । यस्तो अवस्थालाई देशको पर्यटन क्षेत्रको विकासमा फड्को मार्न एकीकृत योजना, सोच र त्यसको कार्यान्वयनको खाँचो देखिएको छ । एकीकृत प्रयास गर्न सके कम्तिमा पनि पाँच लाख पर्यटक, धार्मिक पर्यटकका रुपमा तत्काल भित्र्याउन सकिने अवस्था छ ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)