२०३० सम्म ५० लाख पर्यटक भित्र्याइने

Advertisement

काठमाडौंः मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्यटन क्षेत्रलाई राज्यको प्राथमिक कार्यसूची बनाइनुपर्नेमा सरोकारयुक्त निकायले जोड दिएका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को पाँचौँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार विकास र सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रको प्राथमिक कार्यसूचीको पहिलो नंमा पर्यटन क्षेत्रलाई राखेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आगामी गठबन्धन सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्यटकीय पूर्वाधार र सेवा गुणस्तरतर्फ राज्यको ठूलो लगानी जरुरी छ भन्दै मुलुकमा ५० लाख पर्यटक भित्र्याउन पर्यटनमैत्री नीति बनाएर पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने बताए ।

पर्यटन व्यवसायी सुमन पाण्डेले पर्यटनका हिसाबले नेपालभन्दा कमजोर कम्बोडियालगायत मुलुकले छोटो समयमै ५० लाखभन्दा बढी पर्यटक भित्र्याएको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि सन् २०३० सम्म त्यति पर्यटक भित्र्याउन पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनलाई व्यापक बनाइनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महत र बोर्डकै पूर्वसञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पर्यटनमा नीतिगत सुधार र पूर्वाधार विकासमा जोड दिइएमा त्यति पर्यटक पुर्याउन समस्या नहुने बताए । नाटोजका नवनिर्वाचित अध्यक्ष शिव अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीमा मुलुकमा आधा करोड पर्यटन भित्र्याउने अभियानलाई संस्थाले सहकार्य गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement