माथिल्लो त्रिशुली ३ बी निर्माणका लागि चिनियाँ कम्पनीसँग एक अर्ब ९१ करोडको सम्झौता

Advertisement

काठमाडौंः कुल ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माणका लागि त्रिशुली जलविद्युत कम्पनी र चीनको सिचुवान एने हाइड्रोलिक एण्ड हाइड्रोइलेक्ट्रिसिटी इन्जिनियरिङ कम्पनीबीच आयोजना निर्माणको खरिद सम्झौता भएको छ ।

सम्झौतापत्रमा त्रिशुली जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक मोहनप्रसाद गौतम र सिचुवान एने हाइड्रोलिकको काठमाडौं कार्यालय प्रमुख काउ सेनपिङले सोमबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिचुवान एनेले आयोजनाको प्रसारणलाइनबाहेक सिभिल, इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल तर्फको सम्पूर्ण संरचनाको निर्माण तथा मेशिनरी आपूर्ति र जडान गर्ने कार्य गर्नेछ ।

आयोजना निर्माणका लागि एक अर्ब ९१ करोड ४६ लाख रुपियाँमा सम्झौता भएको हो । उक्त रकम मूल्यअभिवृद्धि करसहितको हो । इन्जिनियरिङ, प्रोक्योरेमेन्ट एण्ड कन्ष्ट्रक्शन (इपीसी) मोडलमा निर्माण गर्न जिम्मा दिइएको त्रिशुली ३ बी को निर्माण अवधि तीन बर्ष रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजनाको क्यासकेड आयोजनाको रुपमा रहेको यस आयोजनाले सुख्खायाममा १३४ दशमलव ८८ गिगावाट घण्टा तथा बर्खामा १५७ दशमलव ७० गिगावाट घण्टा गरी बार्षिक २९२ दशमलव ५८ गिगावाट घण्टा विद्युत उत्पादन गर्नेछ ।

आयोजनाबाट उत्पादित विद्युत बिक्रीका लागि कम्पनी र प्राधिकरणबीच गत भदौ ६ गते विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ ।

Advertisement

Advertisement

Advertisement