केन्याबिरुद्द नेपालको रोमाञ्चक तीन विकेटको जीत, विश्वकप छनोट खेल्ने सम्भावना सहज

Advertisement

काठमाडौँ: रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपाले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

१७८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात निकै खराब थियो । मात्र १४ रन जोड्दा तीन विकेट गुमाएको नेपालको पारी कप्तान पारस खड्का र शरद भेषावकरले सम्हाल्ने प्रयास गरे ।

उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । पारस ४२ रनमा आउट भए । थप १३ रन जोड्दा शरद पनि व्यक्तिगत १९ रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ८२ रन थियो ।

तर, आरिफ र रोहितले महत्वपूर्ण साझेदारी गरे । दुबैले छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरे । दुबैले नेपाललाई जित दिलाउने अनुमान गरिएको थियो ।

४८.२ ओभरमा आरिफ ४२ रनमा आउट भएपछि खेलले नाटकीय रुप लियो ।

यो ओभरको बाँकी चार बलमा नेपालले ३ रन जोडेपछि अन्तिम ओभरमा ६ रन चाहियो । पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा एक रन जोडे ।

तेस्रो बलमा सोमपालले एक रन लिए । तर, चौथो बलमा रोहित ४७ रनमा रनआउट हुन पुगे । अब अन्तिम २ बलमा २ रन चाहियो र स्ट्राइकमा सोमपाल थिए ।

ओभरको पाँचौं बलमा उनले रन जोड्न सकेनन् । अब २ बलमा २ रन चाहियो, नत्र नाटकीय रुपमा हार्ने खतरा रहृयो । तर, सोमपालले दुई रन लिँदै जित दिलाए ।

Advertisement

Advertisement

Advertisement