शिवरात्रिमा वर्षाको सम्भावना अधिक: मौसमविद

Advertisement

काठमाडौँ: मौसममा आएको बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्ग आसपासमा हुस्सु लागेका कारण उडान र अवतरण प्रभावित भएको हो । अपराह्नसम्म पूर्णरुपमा प्रभावित भएको विमानस्थल केही समय खुले पनि साँझ पुनःसमस्या दोहोरिएको छ । विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रियतर्फका अधिकांश उडान प्रभावित भएको जानकारी दिए ।

आन्तरिकतर्फका धेरै उडान आज हुन सकेनन् भने अन्तर्राष्ट्रियतर्फका उडानका धेरै उडान लखनउतर्फ पठाइएको थियो । दैनिक आन्तरिकतर्फ १०० भन्दा बढी तथा अन्तर्राष्ट्रियतर्फ ४५ उडान हुने गरेका छन् । जहाज नउडेपछि विमानस्थलको आन्तरिक तथा बाह्य उडान कक्ष बाहिर यात्रीको चाप बढेको थियो ।

शिवरात्रिमा वर्षा !

पश्चिमी वायुको प्रभावका कारण काठमाडौँसहित देशैभर मौसम बदली भएको तथा केही स्थानमा छिटफुट वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका कारण बनेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण देशभर मौसममा बदली भएको र पश्चिमी भेगमा वर्षासमेत भएको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार मंगलबार बिहानदेखि नै राजधानीलगायत देशका अरु भागमा वर्षा हुने र अपराह्नदेखि मौसममा सुधार आउनेछ । मौसममा आएको बदलीका कारण राजधानीमा चिसो बढेको छ । महाशाखाका अनुसार आज सुर्खेतमा १५.९, डडेल्धुरामा ११, दिपालयमा ६, जुम्लामा १४, बाँकेमा सात, दाङमा दुई र कैलालीमा ४.२ मिलिलिटर वर्षा भएको छ । काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम सात डिग्री सेल्सियस छन् ।

Advertisement

Advertisement

Advertisement